अनुभवका आधारमा पुडासैनी प्रकरण

विदुर खबर २०७६ भदौ ६ गते ७:५३

नारायण पौडेल

पत्रकारिताको विद्यार्थी र अध्यापक, पेपर, टेलिभिजन र अनलाइन पत्रकारितामार्फत संगालेकोे अनुभव, डिप्रेसनका बारेमा हाशिल गरेको व्यवहारिक ज्ञानमा आधारित रही केही विषय लेख्दै छु ।
यो लेखन नत रबीलाई निर्दोष बनाउन केन्द्रीत छ नत फसाउन नै । बरु, अनुभवका आधारमा घटनाको प्रकृतिलाई केलाउने र अनुसन्धानको दायरा फराकिलो पार्ने कोशिशको रुपमा यसलाई लिइदिनुहोला । दुई बर्ष यता कुनै मिडियामा आबद्ध नरहेको हुँदा पुडासैनी प्रकरणमा देखिएको मोर्चाबन्दीमा जोडेर बुझ्ने प्रयास पनि नगरिदिनुहोला । आगे, हजुरहरुकै मर्जी ।
१) भिडियो अन्तिम सत्य होइनः मृतक पत्रकार शालिकराम पुडासैनीको श्रब्यदृश्य बकपत्रका रुपमा सार्व्जिन भएको भिडियो अनुसन्धानका लागि बलियो आधार हो । तर यो भिडियोकै भरमा कसैलाई दोषि करार गर्न मिल्दैन । भिडियोकै बिषयमा लिएर कतिपय प्रश्न उठाइएको छ । त्यसका बारेमा अर्को बुँदामा चर्चा गर्नेछु । तर, यो बुँदामा भिडियो शालिकरामले मर्नुपूर्व स्वविवेकले बोलेका हुन् भन्ने आधारमा बिषयको चिरफार गरेको छु ।
क) डिप्रेशनबारेको अनुभवः म काठमाडौँ बस्थेँ । गाउँघरको मान्छे । काठमाडौँ र गाउँ तथा आफन्तबीचको पूल बन्ने सिमित मध्ये म एक थिएँ । पत्रकारितामा संलग्न भएकाले पहुँच स्थापित गर्न सजिलो थियो । घरपरिवार, आफन्त, चिनजानका सयौँ बिरामीलाई अस्पताल लैजाने र डाक्टरसँग मध्यस्तता गर्ने अवसर बर्षौँको काठमाडौँ बसाइमा मिलि रह्यो । काठमाडौँ उपचारका लागि आउने अधिकाँशलाई धेरै थरी उपचार गराइसकेपछि पत्ता लाग्थ्योः डिप्रेशन । उदाहरणका लागि खुट्टा झम्झमाउने पोल्ने समस्याबारे चर्चा गरौँ । सारा चेकजाँच गरायो, औषधी मूलो ग¥यो निको हुँदैन । अन्तिममा थाहा हुन्थ्यो डिप्रेशनले त्यस्तो भएको रहेछ । निन्द्रा नि ठीक छ, चिन्तासुर्ता पनि खाशै छैन तर पनि डिप्रेशन हुँदो रहेछ । बाहिर थाहा नभएपनि सुषुप्तरुपमा मन रोगी भइसकेका कारणले खुट्टा झम्झमाउँदो रहेछ ।

Advertisement

मुटु धड्कियो भनेर आएका एक आफन्तलाई कहाँ लगिएन । भगवान कोइरालादेखि मनबहादुरसम्म धाइयो । मुटुमा समस्या देखिएन । विश्वबन्धुकोमा लगे पछि थाहा भयो–डिप्रेशन । यी र यस्तै अनेक बिरामी बोकेर डाक्टर धाउँदा धाउँदै डिप्रेशनसम्बन्धी थुप्रै जानकारी भइसकेछ । हुँदाहुँदा कार्यक्रममा आएका अतिथिलाई समेत म आफैँले तपाईलाई डिप्रेशन छ भनि सल्लाह दिएर डाक्टरकोमा लिएर गएको छु । डाक्टर निराकारमान श्रेष्ठले भनेका थिए–तपाईले बिरामीको औषधीको डोजमात्र मिलाउन बाँकी छ ।
ख) डिप्रेशनमा परेका बिरामीलाई सामान्य अवश्थाका व्यक्तिमा भन्दा बढी डर र संका हुन्छ । त्यस्तो डर र संका परको मान्छेसँग भन्दा परिवारभित्रकै, आफन्त, छिमेकी वा सँगतमा रहेको तथा आफ्नो कमजोरीका बारेमा थाहा छ भन्ने लागेको व्यक्तिसँग हुन्छ । श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई, छोराले बाउलाई, बाउले छोरालाई, वल्लो घरकाले पल्लो घरकालाई आफूमाथि कुनै षडयन्त्र गरिरहेको वा आफ्नो अहित हुने गरी कुनै कर्म गरेको भन्ने भान डिप्रेशनका एकथरी बिरामीलाई पर्दछ । डिप्रेशनका प्रकृति अनेकौ हुन्छन् । जसले सबैभन्दा हित चिताउछ उसैले आफूबिरुद्ध षडयन्त्र गरिरहेको भन्ने चिन्ताले बिरामी ग्रसित भएको पनि मैले देखेको छु । डिप्रेशनमा लागेको मान्छेले सम्बन्धित व्यक्तिले आफूलाई षडयन्त्र गरेको छ कि छैन भनेर बुझ्न खोज्दैन, बरु षडयन्त्र गरिसकेको निश्कर्षसहित कसरी उम्कने वा प्रतिकार गर्ने भन्ने तयारी गर्दछ ।
ग) शालिकराम स्वंयले आफूलाई डिप्रेशन भएको स्विकार गरेका छन् । सित्तिमित्ति डिप्रेशनमा पुगेको व्यक्तिले आफूलाई रोग लागेको मान्न तयार हुँदैनन् । डाक्टरहरुका अनुसार जसले आफूलाई डिप्रेशन भएको भनि व्यक्त गर्न तयार हुन्छ, उसलाई निको हुने सम्भावना अधिक रहन्छ । कारण, उसले महशुश गर्न सक्छ कि उसमा आइरहेका भाबना रोगका कारण हुन् ।
शालिकरामको च्याट भनि सार्वजनिक भएका गोप्य वार्तालापमा शालिकरामले आफूलाई डिप्रेशन भएको भनि डाक्टरले औषधी दिएको लेखेका छन् । डिप्रेशन भएका व्यक्तिलाई मनको बह पोख्ने भरपर्दो व्यक्तिको खाँचो पर्दछ । सित्तिमित्ति कसैलाई विश्वास गर्न सक्दैनन् जसलाई विश्वास गर्छन उसको साथ हरदम खोजिरहन्छन् । मनको बह राम्रोसँग पखाल्न पायो भने पनि डिप्रेशन आधाउदि आफैँ सकिन्छ । तर, त्यस्ता गन्थनमन्थन सुन्ने धैयर्ता र सामाथ्र्य धेरैमा हुँदैन । उनीहरुका कुरा सुन्दिनुको साटो उल्टो हप्कीदप्की गर्ने र केही भएको छैन त्यत्तिकै यस्तो गर्ने भनेर बोलि बन्द गराइदिन्छौँ । चुरो कुरो निकाल्न नदिँइ मुख टालिदिन्छौँ जसका कारण बिरामी गुम्सिरहन्छ । शालिकरामले सायद आफ्नो मनको बह पोख्न पाएको भए यो हदसम्म जाने थिएनन् ।
घ) शालिकरामले भिडियोमा रबीलाई आफ्नो आत्महत्याको कारक मानेका छन् । जनतासँग सिधा कुरामा धेरै पटक यौन काण्डका बिषय छापामार शैलीमा छायाँकन भएको सर्व्विविदै छ । शालिकराम स्वंय सो कार्यक्रमको सदस्य भइसकेको र उनी स्वंयले आफ्नो विवाहइतरको सम्बन्ध बाहिरिएको भिडियोमा सार्वजनिक गरेका छन् । रबी स्वंयले शालिकरामलाई धम्की दिए वा दिएनन् ? सोधखोज र छानबिनको बिषय हो । यति प्रस्ट भन्न सकिन्छ ः शालिकरामलाई आफ्नो बिबाह इतरको सम्बन्ध जनतासँग सिधा कुरामा आउनेछ र आफ्नो जीबन मरेतुल्य हुनेछ भन्ने भयंकर भय पैदा भएको थियो । यो भय नै उनको मृत्युको कारण देखिन्छ । यो भय कसरी पैदा भयो ? यो महत्वपूर्ण सवाल हो । यदि शालिकरामलाई डिप्रेशनकै कारण रबीप्रति एकतर्फी संका र भय पैदा भएको भए कानूनतः रबीलाई दोषि करार गर्न मिल्दैन । तर, रबी आफू स्वंयले वा कोहीमार्फत उनलाई तर्साएको भए उनी दोषी ठहरिनेछन् । रबीलाई देखाएर शालिकरामलाई कसैले तर्सायो कि ? कपडाको मूल्य बढी लागे रबी देखाएर साहुजी तर्साउने माहोल जो छ ।
प्रहरीले शालिकरामको भिडियोलाई अन्तिम सत्यका रुपमा लिने र सोही आधारमा अदालतले रबीलाई दोषि करार गरेमा गलत नजिर स्थापित हुनेछ । आत्महत्या गर्नेले आफू मरेपछि मामाको टाउको होस कि फर्सीको गेडो भनेजस्तो जो कोहीसँग रिष साँध्ने प्रवृत्ति विकास हुन सक्छ । भिडियोमा गरिएको आरोप पुष्टि हुने केही आधार फेला परेमा रबी दोषि ठहरिन सक्छन् । अनुसन्धानका क्रममा प्रहरीले रबीको कल डिटेल, गोप्य संवादमाथि पहुँच स्थापित गर्न सक्छ । छानबिनमा तानिएका व्यक्तिहरुबीचको म्यासेज, फोन, संवादले पनि शालिकरामलाई आत्महत्याका लागि दुरुत्साहन गरे नगरेको बुझ्न सकिन्छ । तसर्थ सार्बजनिक भएको भिडियो छानबिनका लागि पहिलो आधार हो तर अन्तिम सत्य होइन ।
२) भिडियोको सत्यता बारे स् भिडियो कसरी तयार भयो ? शालिकराम स्वंयले खिचे या कसैले बाध्य पारी बक्न लगायो ? यो गम्भीर प्रश्न हो । तर, भिडियोग्राफीमा केही अनुभव भएका हिसावले कतिपय प्रसंगलाई केलाउन सकिन्छ तर पुष्टि केबल अनुसन्धानबाट हुने कुरा प्रष्ट पार्दछु ।
क) करकापमा अरुको आदेशमा शालिकरामले बकेको ठहरिएमा यो बिषय अहिलेभन्दा बढी पेचिलो हुनेछ । हरेक कुरामा संका गर्नु छानबिनकर्ताको दायित्व हो । भिडियो स्वंयको छानबिन गर्नु अनुसन्धानभित्रकै पाटो हो ।
ख) किन को प्रसंग स् नेपाल आजमा सार्वजनिक भएको भिडियोको आठ मिनेटको आसपासमा पृथकजस्तो लाग्ने स्वरमा अप्रासंगिकरुपमा किन भन्ने आवाज सुनिन्छ । यो आवाज शालिकरामको होइन तसर्थ भिडियो खिच्ने बेलामा त्यहाँ अरु कोही थियो भन्ने तर्क बलियो छ । यो तर्कको उचित जवाफ शालिकरामको मोबाइलमा रेकर्ड भएको ओरिजिनल भिडियोले दिन सक्छ । यदि सो भिडियोमा पनि सोही प्रकृतिको आवाज रहेछ भने अनुसन्धानमा किन आवाज पनि महत्वपूर्ण कडी बन्न सक्छ । तर, नेपाल आजमा प्रकाशित भएको भिडियोको किन दृश्य सम्पादनका क्रममा अन्जानबश पनि जोडिएको हुन सक्छ । नेपाल आजले प्राप्त गर्नुपूर्व नै भिडियो सम्पादन भएकोपनि हुन सक्छ । जे भएपनि नेपाल आजमा प्रकाशित भएको भिडियो सम्पादित हो भन्नेमा दुईमत छैन ।
भिडियो ल्याइसकेपछि सिधै युट्युवमा अपलोड कमैमात्र गरिन्छ । भिडियो क्वालिटी मिलाउन वा अन्य कारणले पनि भिडियो काँटछाँट गरिन्छ, मिलाइन्छ । भिडियो सम्पादन गर्ने टेम्प्लेटमा पहिले सम्पादन गरिएको भिडियोको आवाजको टुक्रा (क्लिप)बाँकी रहेमा त्यो टुक्रा नयाँ भिडियोमा जोडिएर जान्छ । टेलिभिजन र अन्य श्रब्यदृश्य माध्यममा काम गरेकाहरुका लागि यस्तो मिश्रण सामान्य हुन् । अनुभवका आधारमा भन्दा किन सम्पादन गर्दा मिश्रण भएको आवाज जस्तो लाग्छ । तर, अनुसन्धान गर्नेले किन लाई यति सजिलै नजरअन्दाज गर्न हुँदैन ।
ग) शालिकरामको आँखा यताउता दौडनु स् भिडियोमा बोल्दै गर्दा शालिकरामले यताउता पल्याकपुल्लुक हेरेको जस्तो देखिन्छ । यसरी हेर्दा उनी मोबाइलमा बोल्दै कसैलाई हेर्दै गरेका हुन्की जस्तो देखिन्छ । भिडियो खिच्दा आँखा क्यामराभन्दा बाहिर गएमा अरु कसैलाई हेरेजस्तो देखिन्छ । तपाई स्वंयले भिडियो खिच्नु भयो र क्यामराभन्दा बाहिर हेर्नु भयो भने अर्को व्यक्तिलाई हेरेजस्तो देखिन्छ । यसलाई प्राविधिक हिशाबले ‘आइ आउट अफ क्यामरा’ भनिन्छ । मृत्युबारे बक्दै गर्दा शालिकरामको पीडा कति थियो होला ? बोल्दै गर्दा कसैले सुन्छ कि भनेर उनले यताउता हेरेका थिए कि ? भित्ताको पनि कान हुन्छ भन्ने सर्तकता उनले अपनाएका पनि हुन सक्छन् । आँखा स्वतस्फूर्त क्यामराभन्दा बाहिर गएको थियो कि ? वा त्यहाँ अरु कोही थियो ? अनुसन्धानको विषय हो तर ठोकुवा गर्न सकिने सवाल होइन ।

घ) भिडियोको एक ठाउमा शालिकरामको छेवैमा आकाशी रँगको टिसर्ट लगाएको पाखुराजस्तो देखिन्छ । शालिकरामले भिडियो खिच्दा त्यहाँ अर्को कोही थियो कि भन्ने संका पाखुराजस्तो लाग्ने सो दृश्यले पनि पैदा गर्दछ । त्यो कुनै कपडा, भित्ता वा अरु केहीको आकार हो या बास्तविक पाखुरा हो भन्ने कुरा अनुसन्धानको विषय हो ।
ङ) भेष्ट र सर्ट पाइन्टको बेमेल स् आत्महत्या सामान्यतया दुई किसिमले हुने बताइन्छ । एउटा आकास्मिक अर्को योजनाबद्ध । आफू बिरुद्धको असामान्य सन्देश सुनेमा मान्छेले आत्महत्या गर्न सक्छ । उदाहरणका लागि ब्लड डोनेशन गर्न गएको व्यक्तिलाई सुनाइयो कि उसलाई एचआइभी पोजेटिभ छ । उसले एकाएक सारा संसार अध्यारो देख्छ र एक्कासी निर्णय लिन सक्छ–परमधामको । अर्कोथरी आत्महत्या हुन्छ–योजनाबद्ध । भिडियोमा व्यक्त भएका कुरा र सार्वजनिक भएका शालिकरामका गोप्य संवादलाई आधार मान्दा उनले योजनाबद्धरुपमा देह त्याग गरेका हुन् । योजनाबद्ध हिशाबले आत्महत्या गर्ने व्यक्तिले धेरै कुराको ख्याल गरेको हुन्छ । र, सामान्यतया राम्रै पहिरन लगाएको हुन्छ । भिडियो खिच्दा भेष्ट हुनु र आत्महत्या गर्दा सर्ट प्यान्ट हुनुले खाश अर्थ राख्दैन । मर्ने कुरा शालिकरामले पहिले देखि नै गरेको च्याटबाट देखिन्छ । डिप्रेशनका बिरामीले एकै पटकको प्रयासमा आत्महत्या नगर्ने चिकित्सकहरु बताउँछन् । पटकपटक प्रयास गरेर उनीहरु अन्तिम कर्ममा पुगेका हुन्छन् । भिडियो खिचेको समय र आत्महत्या गरेको समयको तालमेल नमिल्न पनि सक्छ ।
च) दुई हातले नमस्कार गर्दा मोबाइल नखस्नुः भिडियोको अन्तिममा शालिकराम दुई हात जोड्दै बिदा हुन्छन् । सेल्फि भिडियो भए त मोबाइल खस्नु पर्ने ? यो पनि खोजि गरिएको प्रश्न हो । सामान्य हिसावले हेर्दा शालिकरामले भित्तामा आडेस लगाएर भिडियो खिचेका छन् । उनको टाउको उठेको छ । सम्भवतः उनले खुट्टा खुम्चाएर घुँडाको आड लगाएर मोबाइल राखेका थिए । त्यसो गर्दा मोबाइल दुई हातले नमस्कार गर्दा पनि नखसेको हुन सक्छ ।
३) प्रहरी हिरासत र पत्रकारिताको अर्को पाटो स् लोकले मानेको छ रबी पृथक पत्रकार हुन् । बोलेरै विश्व रेकर्ड राखेका उनको प्रतिभा असाधारण छ । खान्दानीरुपमै उनको आवाज ओजनदार हो । रेडियो नेपालमा सुनिने दाजु हरिशरण लामिछानेको आवाज उस्तै दमदार तर शालिन छ । सिधासिधा विषयवस्तु राख्न सक्ने विशेष क्षमता रबीमा छ । निडर र निभर्य लाग्ने उनी आवाजबिहीनहरुको आवाजका रुपमा उदायको कुरामा पनि संका छैन । यति हुँदाहुँदै पनि रबी न पत्रकारका बिद्यार्थी थिए नत पत्रकारिता गरेको अनुभव नै उनमा थियो । त्यसैले उनमा केही यस्ता पक्ष छन् जुन पत्रकारिताको आम मान्यताका आधारमा अस्विकृत थिए । उनी बिषयवस्तु प्रस्तुत गर्छन र निष्कर्ष सुनाउँछन् । उनी यसरी बोल्छन् कि सुन्नेलाई हो झैँ बनाइदिन्छन् । झन् मिडियामार्फत बोलिएको कुराको प्रभाव बेग्लै हुन्छ । मृत्युपूर्व दिइएको भिडियो सन्देशलाई उदृत गर्दै रबीले ठोकुवा गरेका थिए–अष्टमीको हत्या भएको हो र हत्यरा सुपरभाइजर हो । उनले अनैतिक कार्य गर्न छात्रालाई होटेलसम्म पु¥याएको भनिएका शिक्षकमाथि झण्डै झण्डै हातपात गरेका थिए । आमाचकारी गाली त प्रष्टै सुनिन्थ्यो । उनले स्विकार गरेका पनि थिए त्यस्तो कुकर्म देख्दा आफूलाई थाम्नै सकेनन् । पत्रकारले थाम्नै पर्छ भन्ने मान्यताको उनले हेक्का गरेनन् ।
४) रबीप्रतिको सुभेच्छा
पत्रकारिता, अनुसन्धानकर्ता वा न्यायलयले एउटामात्र कुरालाई आधार मानेर निष्कर्षमा पुग्न मिल्दैन । आरोप जसले जसलाई पनि लगाउन सक्छ । आरोप सही पनि हुन सक्छ । तर, त्यसको स्वतन्त्र छानबीन बिना प्रमाणित मान्न सकिन्न । अदालतले फैशला गरेका कुरा दशकौँ पछि गलत ठहरिएको उदाहरण कैयौँ छन् । तसर्थ भाषा छनौटमा संचारकर्मी संयमित हुनुपर्दछ । भाषा छनौटमा हुने लापरबाहीले बेलाबेला पत्रकारिताको नाकको डाँडी भाँचिने गरेको छ ।
रबीले आवाजबिहीनहरुको आवाज हुने गरी आवाज बुलन्द पारेकै हुन् । न्याय नपाए जनतासँग सिधा कुरामा जानु भन्ने विश्वासपनि आर्जन गरेकै हुन् । यति हुँदाहुँदै पनि उनी पत्रकारिताको धर्मबाट कतिपय अवश्थामा चुकेका हुन् । उनीमाथि आफैँ फैशला सुनाउँने गरेको, आरोपितका बिरुद्धमा प्रमाण पेश गर्ने तर आरोपितलाई आफ्नो कुरा मिडियामा भन्नसमेत नदिइ प्रहरीको जिम्मा लगाउने गरेको आरोप लाग्दै आएको थियो । आरोप प्रमाणित नभएसम्म दोषि करार गर्न नपाइने आम मान्यताको पनि उनले वेवास्ता नगरेका होइनन् । उनले सयौँलाई न्याय दिए, सत्य हो । न्याय दिलाउँदै गर्दा विधिको उल्लँघन गरिएको तथा आफूहरुलाई अन्यायमा पारिएको आवाजपनि नउठेको होइन ।

Advertisement

नियतिले रबीलाई उस्तै कठघरामा उभ्याइदिएको छ । भिडियोलाई मात्र हेर्ने हो र रबीले अष्टमी गुरुङको आत्महत्याका सन्दर्भमा प्रयोग गरेको भाषामा भन्ने होे भने शालिकरामलाई मर्न बाध्य बनाइएकाले यो आत्महत्या नभइ हत्या हो ! शालिकरामले रबीको साटो अरु कसैको नाम लिइदिएको भए सो व्यक्ति जनतासँग सिधा कुरामार्फत हत्यारा घोषित भइसक्ने सम्भावना थियो । यो घटनापछि पत्रकारिता गर्ने जो कोहीले बुझ्ने मौका पाएः आरोप जो माथि जस्तो पनि लाग्न सक्छ, तर यसका अनेक पाटा हुन सक्छन् । पत्रकारले आरोप लागेकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन । रबीलाई पनि दोषि करार गर्न मिल्दैन ।
आरोप लगाउनुको कारण (भिडियो कसरी खिचियो), आरोपको सत्यता (शालिकराम स्वंयले रबीलाई दोषि देखेका रहेछन् भनेपनि) र रबीको संलग्नताबारे छानबिन नगरी रबी दोषी हुनेछैनन् । अकारण रबीलाई दोषी बनाउन सकिन ेछैन ।
रबी स्वंय शालिकरामलाई धम्काउन लागि परे होलान् भन्ने विश्वास लाग्दैन । बरु यो पक्राउ प्रकरण रबी र संचारकर्ममा लागेकाहरुका लागि पत्रकारितासम्बन्धी थप ज्ञान हाशिल गर्ने माध्यम बन्न सक्छ । अनुसन्धानबाट निर्दोष ठहर भइ रबी थप बलियो र परिपक्व भएर फर्किने आशा छ । रबीलाई फसाउने नाममा अनेक षडयन्त्र रच्ने वा रबीलाई बचाउने नाममा अनेक तरंग ल्याउने काम नगरौँ । नेता पक्राउ परे न्यायलय घेर्ने, पुलिसको कठालो समातेर आगो झोस्ने कार्यकर्ताले समेत भनिरहेका छन्–न्यायलयलाई स्वतन्त्र रहन दिउँ, पुलिसलाई भीडले निर्दे्शित नगरौँ । सबैको चेत खुलोस्–न्याय नमरोस् अरु जे होस् ।
(नेपाल आजबाट साभार)

प्रतिक्रिया