विश्वकप छनोटका चार खेल नेपालमै हुने, पहिलो खेल कुवेतमा खेल्ने

नुवाकोट, विश्वकप फुटबलको एसिया क्षेत्रीय छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेल नेपालले कुवेतमा नै खेल्ने पक्का भएको छ।
कुवेत फुटबल संघसँगको सहमतिमा नेपाली मैदानमा हुनुपर्ने खेल दशरथ रंगशाला तयार नहुनाले कुवेतमा नै गराउने सहमति जुटेको हो। पहिलो खेल कुवेतसँग कुवेतकै मैदानमा आगामी भदौ १९ गते हुने तय भएको हो। यसअघि घरेलु मैदानमा खेलिने खेल अवे गर्न नमिल्ने र दुवै खेल कुवेतमा नगर्न फिफाले पत्र पठाएको थियो। नेपालले कुवेतसँगको दोस्रो खेल भने दशरथ रंगशालामा नै खेल्नेछ। त्यसका लागि मंसिर ३ गते अगावै रंगशाला तयार पार्नुपर्ने चुनौती थपिएको छ।
‘हामीले कुवेतसँग कुराकानी गरेर नै पहिलो खेल उता गर्ने सहमति भएको हो। अब यसले तालिकामा केही हेरफेर भएको छ। नेपालको सुरुवातको तीन खेल अवे मैदानमा हुनेछ’ नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले भने। योसँगै नेपालले आफ्नो चारवटै खेल घरेलु मैदानमा खेल्न बाटो खुलेको छ। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्।
एन्फाले सुरुदेखि नै चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल सार्न अनुरोध गरेको थियो। जोर्डन र कतार यसमा पहिलेदेखि सहमत रहेको र अहिले कुवेत पनि सहमत भएसँगै नेपालले चार खेल घरेलु मैदानमा खेल्ने बाटो खुलेको एन्फा प्रवक्ता राईले जानकारी दिए।
प्रतिक्रिया