लगानी बोर्ड र नेपवेस्टले अबको दुई महिना भित्र परियोजना विकास सम्झौता गर्ने बताएका छन् । परियोजना लगानी सम्झौता भएपछि भने यो कम्पनीले काठमाडौंको फोहोर उठाउन सुरु गरिहाल्नेछ ।
‘बोर्डले हामीलाई पीडीएको प्रारम्भीक सम्झौता गर्ने जिम्मेवारी दिएको थियो, अब पीडीए सम्झौता बोर्डले गर्नेछ र त्यसलाई क्याबिनेटले पास गरेपछि यो कम्पनीले फोहोर व्यवस्थापन गर्न सुरु गर्नेछ,’ उनले भने ।सम्झौता भएको ३ महिनासम्म फोहोर उठाउन आवश्यक तयारी गर्ने म्याद दिइएको छ र यो बढीमा ६ महिनासम्म लम्ब्याउन पाइने लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी बताउँछन् ।
नेपवेस्ट नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ‘जोइन्ट भेन्चर’ कम्पनी हो । बुधबार प्याकेज वानको कामका लागि पीडीएको प्रारम्भिक सम्झौता भएको हो ।
प्याकेज वान अन्र्तगत काठमाडौं महानगरपालिका सहित अन्य ९ नगरपालिकालाई समेट्ने गरी फोहोर व्यवस्थापन गर्न लागिएको छ ।
अहिले काठमाडौं जिल्लामा रहेका नगरपालिकाहरुले आफैं फोहोर व्यवस्थापन गर्दै आएका छन् । तर प्याकेज वानको काम सुरु भएपछि भने नगरपालिकाहरुले फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यता हटेर जान्छ ।
यो फस्ट फेज अन्र्तगत सबैजसो नगरपालिकाहरु समेटिएको भएपनि कीर्तिपुर नगरपालिका भने यसमा समेटिएको छैन ।
काठमाडौं महानगरपालिकासँगै दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरपालिकालाई प्याकेज वानले समेट्छ ।
पहिलो चरणको यो परियोजना कार्यान्वयन गर्न चार अर्ब ४० करोड रुपैयाँ लाग्ने बोर्डका अधिकारीहरु बताउँछन् । कम्पनीले २० वर्षसम्म सरकारलाई एक अर्ब ८० करोड रुपैयाँ रोयल्टी बुझाउनेछ । नेपवेस्टले दुई वर्षसम्म निर्माणको अवधि पाउने अधिकारी बताउँछन् ।
फोहोर व्यवस्थापनवापत प्रतिपरिवार मासिक दुई सय १९ रुपैयाँ सेवा शुल्क उठाउने कम्पनीको योजना छ ।
यो कम्पनीले संकलित फोहोर प्रशोधन र विसर्जन गर्नेछ । र, यसले संकलित फोहोरबाट बिजुली, ग्यास, कोइला र कम्पोस्ट मललगायत उत्पादन गर्ने कम्पनीको योजना छ ।
बोर्डका अनुसार, संकलित फोहोरबाट कम्पनीले दुई मेगावाट बिजुली उत्पादन गर्नेछ र जसलाई आफ्नै प्लान्टमा प्रयोग गर्नेछ । कम्पनीले वर्षमा एक लाख ४० हजार टन मल उत्पादन गर्नेछ ।
कम्पनीले बोटलिङ गर्न मिल्ने ग्यास पनि उत्पादन गर्नेछ । यो परियोजनामार्फत् वर्षमा एक करोड ४१ लाख १७ हजार ६ सय २० क्युविक मिटर मिथेन ग्यास उत्पादन हुनेछ ।
साथै फोहोरबाट रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) पनि उत्पादन गरिनेछ । वर्षमा ५० हजार टन आरडीएफ बजारमा बेच्ने कम्पनीको योजना रहेको बोर्डले जानकारी दिएको छ ।
परियोजना विकासको सम्झौता भएको ९ महिनाभित्र फाइनान्सियल क्लोजर गर्ने लगानी बोर्डले समय दिएको छ ।
प्रतिक्रिया