दिपक दिपाको नयाँ फिल्म ‘छ माया छपक्कै’लाई झण्डै डेढ करोड विदेशी राइट्स
विदुर खबर
२०७६ असार १९ गते २:२२
नुवाकोट असार १९, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्मले घरेलु बजारमा मात्र रेकर्डतोड व्यापार गर्दैन । विदेशमा पनि व्यापारमा नयाँ रेकर्ड कायम गर्दछन् । यसैले यो टिमले बनाएका फिल्मको डिजिटल र ओभरसिज राइट्स महँगो मुल्यमा विक्री हुने गरेको छ । गत वर्ष यो टिमले बनाएको फिल्म ‘छक्का पञ्जा ३’ को विदेश राइट्स करीब १ करोडमा विक्री भएको थियो ।
दीपक-दीपाको समुहले बनाएका फिल्मले विदेशमा नेपाली फिल्मको बजार विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । केही वर्ष अगाडिसम्म लाखौंमा नेपाली फिल्म खरिद गरेर विदेशमा चलाउन कसैले जोखिम उठाउँदैन थिए । फिल्म ‘छक्का पञ्जा’ ले यसको सुरुवात गर्यो । अहिले राम्रो ब्यानर र चलेका कलाकारको फिल्म रिलिज अगावै महँगो मुल्यमा विदेश राइट्स विक्री हुने गरेका छन् । यसबीच, दीपक-दीपा समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाईंले फिल्मको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् । स्रोतका अनुसार, उनले अन्तिम बोली १ करोड १५ लाख लगाएका थिए । तर, दीपक-दीपाले आफूहरुलाई ६ अंक फाप्ने भएका कारण एक लाख बढाउन आग्रह गरेपछि विदेश राइट्समा सहमती जुटेको हो ।
अब, विदेशमा यो फिल्म प्रदर्शन गर्न चाहनेले निशानसँग सम्पर्क गर्नुपर्ने छ । ‘छ माया छपक्कै’ को एक गीतबाहेक बाँकी छायांकन लगभग सकिएको छ । केही दिनमा लोक शैलीको एक गीत राजधानीमा खिच्ने तयारीमा निर्माण टिम छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् । उनलाई दीपाश्री निरौलाले सघाएकी छन् । यो फिल्मले दशैंमा अशोक शर्माको फिल्म ‘रातो टिका निधारमा’ सँग बक्सअफिसमा प्रतिस्पर्धा गर्दैछ । फिल्ममा कलाकार दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । फिल्म ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो फिल्म गरेको हो । फिल्मका निर्माता रोहित अधिकारी हुन् । हरि हुमागाइँले फिल्म खिचेका छन् ।
साभार फिल्मी खबर
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया