माथिल्लो तामाकोशीलाई अर्को सफलता,ठाडो सुरुङमा पेनस्टक पाइप जडान
नुवाकोट असार १२, माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई अर्को सफलता मिलेको छ।
माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ। एउटा पाइप माथिबाट तल सफलतापूर्वक पुर्याएसँगै जडानकार्य पनि सुरु भएको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैतर्फ पाइप जडान सुरु भएको हो। मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए। यसको गति ७ मिटर प्रतिमिनेट रहेको उनले बताए।
मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए। दश दिनअघि तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न ७ घण्टा लागेको थियो। ‘तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे,’ उनले भने, ‘पाइप जडानकै कारण आयोजनाबाट विद्युत उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ।’ माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ। त्यसपछि अर्को पाइप जडान सुरु हुनेछ। माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ।
पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ। पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। तर, माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट २) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया