रसुवागढीको सुरुङबाट १७ जनाको उद्धार, सबै सकुशल

नुवाकोट असार ६, निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए । बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।
‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ डिएसपी ढकालले भने, ‘माथिबाट सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले माथि हेर्दै, बाहिर निकाल्दै गरियो ।’ सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन ।
अडिट-४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेट भित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया