जिल्ला अस्पताल त्रिशूलीमा रगत अभाव
जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताए ।
‘गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ, रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता छ,’ उनले भने । श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन् । अधिकांशको शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको डा.मधुकर दाहालले बताए । ‘सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, रगत अभावले झन समस्या हुन्छ’, उनले भने । सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा.दाहाल बताउँछन् ।
दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैँ रगत अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ । केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको हो ।
केन्द्र प्रमुख श्रेष्ठका अनुसार हरेक महीना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट सङ्कलन गर्ने भनेर तालिका बनाए पनि त्यो कार्यान्वयन नहुँदा रगत अभाव भएको हो । केन्द्रसँग भएका एक हजारभन्दा बढी रक्तदाताको सम्पर्क विवरणबाट रगत सङ्कलनका लागि सहजीकरण गरिँदै आएको छ ।
दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि रु ८०० शुल्क लिई उपलब्ध गराउने गरेको छ । केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया