एकीकृत घुम्ती शिविरमा नागरिकता लिनेको घुइँचो


रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा सेवा लिनेको घुइँचो लागेको छ। गाउँघरमा नै सरकारी सेवा प्रदान गर्न भन्दै शनिबारदेखि सुरु भएको शिविरमा सेवा लिने स्थानीयको घुइँचो लागेको हो।
दुर्गम गाउँका नागरिकलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको नीतिअनुरुप नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङमा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
यसपटकको शिविरमा यसअघि प्रदान गरिएका भन्दा केही सेवालाई थप गरिएको छ। नागरिकता जारी गर्ने, प्रतिलिपी नागरिकता बनाउने, कपाल काट्ने, आँखा परीक्षण र कानुनी सेवा थप गरिएको हो। शिविरमा २०५५ साल यता जारी भएका नागरिकताको मात्र प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
यसअघि शिविरमा दिँदै आइएका सिम कार्ड वितरण, बिउविजन वितरण, परामर्श लगायतका सेवालाई निरन्तरता दिइएको छ। शिविरमा जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाल टेलिकम, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा, सिँचाइ विकास सब डिभजन कार्यालय लगायतले सेवा दिइरहेका छन्।
जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्वमा चालू आर्थिक वर्षमा सञ्चालन गर्ने योजना रहेका ४ वटा शिविरमध्ये यो नै पहिलो भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
गाउँबाटै सबै सेवा पाएपछि नागरिक खुसी भएका छन्। नागरिकताको प्रतिलिपि, जग्गा नामसारी लगायतका सरकारी कामकाजका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता टरेको छ। गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि नागरिकता मात्र नभई अन्य सरकारी सेवा लिने सर्वसाधारणको भीड लागेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्।शिविर आइतबारसम्म चल्नेछ।
प्रतिक्रिया