मेरोमाइक्रोफाइनान्सको खराब कर्जा ९.४९ प्रतिशत बढ्यो

विदुर खबर २०८२ वैशाख १२ गते ११:३२

नुवाकोट । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

Advertisement

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Advertisement

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.१७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.१३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.५२ प्रतिशत र सञ्चालन मुनाफा ५ प्रतिशत बढेको छ।

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ७.६१ प्रतिशतबाट बढेर ९.४९ प्रतिशत बढेको छ। जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ३ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। फलस्वरुप, लघुवित्तको खुद नाफा प्रभावित भएको हो। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३६ पैसा घटेर १२ रुपैयाँ १५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ।

१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७५ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा लघुवित्तले १२ अर्ब ३७ करोड २२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १४ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया