नुवाकोटमा सिन्दुरे जात्रा मनाइयो

नुवाकोृट । नुवाकोटमा भैरवी वर्ष बन्धन २०८१ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ ।

शनिवार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ सोमवार साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।
भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख १० गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर धार्मिक गतिविधि जारी छ । शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०८१ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख १० गतेसम्म जारी रहने बताए ।

सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भएपनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् । जालपादेवी मन्दिरमा पुर्याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।

प्रसिद्ध जालपादेवी, भैरवीदेवीसहित जीवित भगवान्का रुपमा रहनुभएका धामीप्रतिको आस्था एवं सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष हजारौँको सहभागिता रहेको थियो । जात्रामा बूढापाका मात्र नभई युवा र बालबालिकाको समेत उल्लेख्य सहभागिताले जात्राको गरिमालाई उच्च बनाएको विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।
चैत शुक्ल पूर्णिमाका दिनमा मनाइने भए पनि यस जात्रालाई ‘वैशाख शुल्क पूर्णिमाको जात्रा’, ‘धामी जात्रा’ देवीजात्रा लगायतको नामले पनि चिनिन्छ ।

भक्तजन तथा जात्रालु, तीर्थालुले दिदी जालपादेवी, बहिनी भैरवीदेवीसहित नुवाकोटका धामी, धमिनीको एकै स्थानमा दर्शन गर्न पाउने अवसरसमेत हरेक वर्ष चैत शुक्ल पूर्णिमामा जुर्ने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया