आज, भोलि र पर्सि वर्षाको सम्भावना

विदुर खबर २०८१ चैत २५ गते ९:०५

नुवाकोट । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले नुवाकोटसहितका जिल्लाहरुमा आज बादल लागेको छ ।

Advertisement

कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।

मौसमविद हरिप्रसाद दाहालले मंगलबार (आज) अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’

Advertisement

उनका अनुसार वर्षाको सम्भावना विहीबारसम्मै छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।

Advertisement

आज अपराह्न काठमाडौंमा पनि हल्का वर्षाको स्म्भावना छ । लुम्बिनी प्रदेशदेखि पश्चिमका भूभागमा भने एक–दुई स्थानमा मात्रै वर्षाको सम्भावना रहेको मौसमविद दाहालले बताए । लामो समयदेखि वर्षा नभएका कारण देशका धेरै स्थानहरूमा सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढेको छ ।

पानी पर्दा हावामा भएका धुलो र धुवाँका कणहरु पखालिने भएकाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने मौसमविद हरिप्रसाद दाहालले बताए ।

प्रतिक्रिया