सरकारमै बसेर पनि खुसी छैन कांग्रेस

नुवाकोट । १७ असारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जुन पृष्ठभूमिमा काम गर्दै थिए, त्यसयता कांग्रेसभित्र धेरै उतारचढाव भइसक्यो । तर ओली त्यसबारे बेखबरझैं देखिन्छन् ।
कांग्रेसभित्रका विभिन्न पक्ष यसैकारण उनीप्रति बेखुस देखिन्छन् । र, त्यो बेखुसी स्वयं सभापति शेरबहादुर देउवातर्फ पनि विस्तारित छ ।
पछिल्लो दिनमा कांग्रेसभित्र वर्तमान सरकारको कार्यक्षमतालाई लिएर असन्तुष्टिको मात्रा बढ्दो क्रममा छ । सार्वजनिक मञ्चबाट सरकारको क्षमताप्रति प्रश्न उठाउँदै आएका कांग्रेसका नेताहरुले कार्यसम्पादन समितिमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
कांग्रेस १० मन्त्री र दुई राज्यमन्त्रीसहित ओली नेतृत्वको सरकारमा सहभागी छ । संसद्कै ठूलो दलले सघाएको दोस्रो दलको बलियो सरकार भए पनि ‘डेलिभरी’ दिन नेतृत्व चुकिरहेको बुझाइ पार्टीभित्र बढ्दो छ ।
खासगरी सरकारले महँगी नियन्त्रण गर्न तथा अर्थतन्त्र लयमा ल्याउन नसक्दा जनतामा आक्रोश बढेको टिप्पणी नेताहरुले गरेका छन् ।
‘बहुशक्ति’लाई ओलीले ख्याल गरेनन्’
कांग्रेस नेताहरुका अनुसार कांग्रेसमा सरकारप्रति असन्तुष्टि बढ्नुमा मूलतः दुई कारण छन् । पहिलो, सरकार प्रभावकारी नहुनु । दोस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका ‘बहुशक्ति’लाई बेवास्ता गर्नु । कांग्रेसभित्र समूहसहित नेताहरुले आफू छुट्टै शक्ति केन्द्रका रुपमा व्याख्या गर्ने प्रचलनसमेत छ ।
केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवा बलियो भए पनि आम कार्यकर्तामा ठिक विपरीत दाबी गर्दै एक पूर्वपदाधिकारी भन्छन्, ‘केन्द्रीय समितिमा देउवासँग ८० प्रतिशत शक्ति छ । कार्यकर्ता तहमा हेर्यौं भने ठिक उल्टो हुन्छ । प्रधानमन्त्रीले सभापति देउवासँग सहमति गरे पनि त्यसलाई अस्वीकार गर्नेहरुको झन् ठूलो हिस्सा छ ।’
पार्टीको एउटा शक्तिको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालासहित आलोचना गर्ने नेताका विचारलाई प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आएको कांग्रेसका एक नेताले सुनाए । ‘ओली सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सबै कुरा मिल्छ भन्ने ठान्छन् । पार्टीभित्र बहुशक्ति रहेको उनले बुझेकै छैनन्,’ ती नेताले भने, ‘असन्तुष्ट पक्षसँग छलफल गर्ने प्रचण्डको बानी थियो । ओलीको त्यो बानी पनि छैन ।’
नेताहरुको बुझाइ कोइरालाले सरकारप्रति आक्रोश व्यक्त गर्नुमा कोशी सरकार पनि रहेको छ । कोशीमा पार्टीभित्र भागबन्डा नमिल्दा उनी पक्षका सांसदहरू मन्त्री बन्नै पाएनन् । कोइराला पक्षले दुई वटा मन्त्रीको अडान राखेको थियो । सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष उनको माग पूरा गर्न तयार नभएपछि कोइराला समूहबाट मन्त्री बन्नै पाएनन् । नेता कोइरालाले सरकारको आलोचना गर्नुमा उनलाई केन्द्रदेखि प्रदेश सरकारसम्म बेवास्ता गर्नु पनि कारण रहेको नेताहरु बताउँछन् ।
संस्थापनइतरका नेता कोइरालाले सरकारको शैलीप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन् । अध्यादेश, दुईदलीय संयन्त्र, संविधान संशोधन लगायतमा सरकारको आलोचना गर्दै आएका कोइरालाले आइतबारको बैठकमा परिस्थिति जटिल रहेको बताएका थिए ।
अध्यादेश र संयन्त्रको विषयमा भने कोइरालाले विचार नराखेको सहभागी एक नेताले सुनाए । जनअपेक्षा अनुसार सरकारले काम नगरेको हुँदा व्यवस्थाप्रति नै असन्तुष्टिको स्वर सुनिएको कोइरालाको जिकिर थियो । ‘व्यवस्थाकै बारेमा नकारात्मक सोच बाहिर आइरहेको छ । जनतामा निराशा छ । निराशाको फाइदा उठाउन विभिन्न शक्तिहरु लागेका छन्,’ कोइरालाको विचार थियो ।
तीन दिनअघि सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा कोइरालाले सुशासन पटक्कै नभएको विचार राखेका थिए । गत शुक्रबार उनले भनेका थिए, ‘कांग्रेस र एमाले सरकारमा छौं । भन्न त हुँदैन । सुशासन पटक्कै छैन ।’ सरकारले नियुक्त गर्ने व्यक्तिहरुमा मनलाग्दी गरेको कोइरालाको भनाइ छ । सिफारिसमा परेका व्यक्तिहरुलाई बरियताको मूल्यांकन नगरी आफूखुसी गर्ने गरेको उनको टिप्पणी छ ।
सरकारप्रति असन्तुष्टि बढ्नुमा प्रदेश कांग्रेसको संरचनामा रहेका व्यक्तिहरुलाई आवश्यक परामर्श नहुनु पनि कारण रहेको छ । प्रदेश सभापतिको भूमिकालाई अवमूल्यन गर्दा उनीहरु एमाले नेतृत्वको केन्द्र सरकारसँग क्रुद्ध छन् । लुम्बिनीको उदाहरण दिँदै एक नेताले सुनाए, ‘पार्टी संरचनाको नेतृत्व गर्ने अमरसिंह पुन छन् । संसदीय दलको नेता डिल्ली चौधरीसँग छलफल गरेर अमरसिंहलाई वास्ता नगर्ने हो भने उनले सरकारको अपनत्व कसरी लिन्छन्?’
सरकारको काम-कारबाहीप्रति नेताहरुले चित्त बुझाउन सकेका छैनन् । आइतबार बसेको कार्यसम्पादन समितिमा सरकार ‘सही बाटोमा छ’ भनी कुनै नेताले विचार नराखेको सहभागी एक नेताले सुनाए ।
लुम्बिनीका कांग्रेस सभापति पुनले प्रदेशमा एमाले नेतृत्वको सरकार आफूखुसी चलेको अनलाइनखबरको संवादमा बताएका थिए । देउवा पक्षकै केन्द्रीय सदस्य एवं कर्णालीका संसदीय दलका नेता जीवनबहादुर शाही पनि एमालेको नेतृत्वको सरकारप्रति खुसी देखिन्नन् । पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै अहिलेकै अवस्था जस्तैगरी सरकारले काम गरेर नहुने अनलाइनखबरसँग केही समयअघि बताएका थिए
सरकारको काम-कारबाहीप्रति नेताहरुले चित्त बुझाउन सकेका छैनन् । आइतबार बसेको कार्यसम्पादन समितिमा सरकार ‘सही बाटोमा छ’ भनी कुनै नेताले विचार नराखेको सहभागी एक नेताले सुनाए । कार्यसम्पादन समितिको बैठकमा १२ जना नेताले विचार राखेका थिए । बैठकमा नेताहरुले राखेका विचारबारे सहभागी एक नेताले भने, ‘परिस्थिति गम्भीर छ । सडकमा मान्छे उत्रिएको कुराले अन्तर्राष्ट्रिय स्तरमा पनि सन्देश प्रवाह भएको छ ।’
२५ फागुनमा पूर्वराजा पोखराबाट काठमाडौं फर्काँदा सडकमा भएको प्रदर्शन र राजावादीको सक्रियतालाई नजरअन्दाज नगर्न नेताहरुले सुझाएका थिए । नेता अर्जुननरसिंह केसीको बुझाइमा उक्त प्रदर्शन वर्तमान व्यवस्था विरुद्ध नभई अवस्था विरुद्धको आवाज थियो । सत्तापक्षलाई सुझाव दिँदै उनले पार्टी बैठकमा भने, ‘आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्न युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।’
वर्तमान सरकारका कार्यप्रति असन्तुष्ट देखिने अर्का नेता हुन् नेता एनपी साउद । वर्तमान सरकारको ‘अन्डर पर्फमेन्स’ रहेको बताउँदै आएका साउदले दुई तिहाइको सरकार भए पनि स्थिरताको महसुस हुन नसकेको विचार पार्टी बैठकमा राखेका छन् ।
साउदले बैठकमा भने, ‘संविधानलाई समेत अस्थिर हुनेगरी प्रक्रिया अघि बढेको छ । मुलुकलाई स्थिर बनाउनुपर्ने बेलामा संविधानलाई अस्थिर बनाउने गरी घटनाहरु घटिरहेका छन् ।’ साउदले कांग्रेसको दायित्व सम्झाउँदै भने, ‘यो बेलामा हामीले सुतुरमुर्ग जस्तो गरी प्वाँखभित्र टाउको राखेर बस्ने हो भने समस्याको समाधान हुँदैन ।’
सन्तुष्ट छैनन् गगन थापा
सरकारका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कांग्रेस–एमालेबीचमा संयन्त्र बनेको छ । दुईदलीय संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
सरकारका कामबाट महामन्त्री थापा नै सन्तुष्ट देखिँदैनन् । उनले सार्वजनिक मञ्च र संसद्बाट सरकारको शैलीमा असन्तुष्टि राख्दै सुझावसमेत दिएका छन् । सरकार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको पछि लागेको भन्दै उनले आपत्ति जनाएका थिए ।
२४ फागुनमा सिन्धुलीमा बोल्ने क्रममा महामन्त्री थापाले कुलमान घिसिङलाई किचकिच गरेर सरकारले ढंग नपुर्याएको बताएका थिए । त्यसबेला भनेका थिए, ‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । कि राम्रो गर्नूस्, राम्रो नसके कम्तीमा नराम्रो काम नगर्नूस् ।’ तीन/ चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर किचकिच उपयुक्त नहुने उनको भनाइ थियो ।
सरकारका कामबाट महामन्त्री गगन थापा नै सन्तुष्ट देखिँदैनन् । उनले सार्वजनिक मञ्च र संसद्बाट सरकारको शैलीमा असन्तुष्टि राख्दै सुझावसमेत दिएका छन् ।
वर्तमान सरकारले नियुक्त गरेका व्यक्तिहरुप्रति सार्वजनिक रुपमा प्रश्न उठेको छ । व्यक्ति छनोट गर्दा विधि मिचिएको र आफू निकटलाई स्थान दिएको भन्दै विरोध भएको थियो । गत मंसिरमा नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ र फागुनमा बीमा प्राधिकरणमा शरद ओझा नियुक्त हुँदा सरकारको आलोचना भएको थियो ।
सरकारले गर्ने नियुक्तिमा वृहत्तर हितका आधारमा हुनुपर्ने विचार महामन्त्री थापा राख्छन् । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्दा नागरिकको विश्वास जित्ने गरी निर्णय लिन उनले सुझाव दिए ।
‘गभर्नरको नियुक्ति नजिकबाट हेरिरहेका छौं । को व्यक्ति भयो, को व्यक्ति भएन, हामीले हेरिरहेका हुन्छौं,’ संसदमा थापाले भने, ‘प्रत्येक काममा सरकारले आफ्नो निर्णयबाट संसद्, अरु राजनीतिक दल र आम मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्छ ।’ मन्त्रीहरुलाई अनावश्यक काममा हात नहाल्न उनको सुझाव दिएको खबर अनलाईन खबरले छापेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया