स्ववियु निर्वाचन : नुवाकोटमा कांग्रेस र एमालेका विद्यार्थी संगठनबीच गठबन्धन हुने

विदुर खबर २०८१ फागुन २८ गते ६:४६

नुवाकोट । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नुवाकोटमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बिच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

Advertisement

केन्द्रीय तहमा गठबन्धन नगर्ने भए पनि नुवाकोटमा भने सत्ता सहयात्री दुई दलका विद्यार्थी संगठन बिच तालमेल गरेर स्ववियुमा गठबन्धन गर्ने विद्यार्थी संगठन बिच सहमति भएको हो । सत्ता सहयात्री दुई दल बिच चुनावी सहकार्य हुने भएपछि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भने एक्लै चुनावी मैदानमा उत्रने भएको छ ।

नुवाकोटमा स्ववियु निर्वाचन हुन लागेका ३ सामुदायिक क्याम्पसहरू रहेका छन् । जसमा नुवाकोट आर्दश बहुमुखी क्याम्पस, त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस र महादेव बहुमुखी क्याम्पस रहेका छन् । नेविसंघले जिल्लाकै ठुलो क्याम्पसको रुपमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस, त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको स्ववियु सभापति लिने र अनेरास्ववियुले महादेव बहुमुखी क्याम्पसको स्ववियु लिने निर्णय भएको नेविसंघका नेता तथा बट्टार क्याम्पसका स्ववियु सभापति रविन दाहालले जानकारी दिए ।

Advertisement

दुई संगठन बिच समानुपातिक मतभार नहेरी निर्वाचनमा सभापति लिइएको संगठनबाट सह–सचिव पदमा र सचिव,कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा निर्वाचन पछि मनोनीत गर्ने सहमति पनि भएको छ । दुवै संगठनका मातृ पार्टीका नेताहरू सहितको बैठकबाट जिल्लाका सबै क्याम्पसहरू ‘कब्जा’ गर्ने रणनीति लिएर गठबन्धन गरिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

सत्ता सहकार्यमा रहेका दुई दलका विद्यार्थी संगठनहरु बिच स्ववियुमा गठबन्धन गरेर जाने सहमति भएपछि माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई भने केही दबाब परेको छ । क्रान्तिकारीले भने आफ्नो नेतृत्व स्थापित गर्नका लागि विशेष योजना अगाडि सारेको छ । अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष राजेन्द्र पनेरुले आफुहरु एक्लै चुनाव लड्ने बताए ।

Advertisement

दुई विद्यार्थी संगठनबीच गठबन्धन हुने भएपनि सबैको ध्यान भने बट्टार क्याम्पसमा छ । बट्टार क्याम्पसका निर्वाचन अधिकृत प्रकाश सडौलाले राजीनामा दिएपछि के गर्ने भन्ने अन्योल सिर्जना भएको छ । बट्टार क्याम्पसमा उम्मेद्धवारी दर्ता नै हुन नसकेपछि अन्यौल सिर्जना भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय मंगलवार (हिजो) विहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरेको थियो ।

प्रतिक्रिया