एमाले रसुवा अध्यक्षद्धारा पार्टी परित्याग गरेको घोषणा

विदुर खबर २०८१ फागुन २५ गते १२:२२

नुवाकोट । संविधानसभा सदस्य एवं नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टीका सबै पद त्यागेको घोषणा गरेका छन् ।

Advertisement

रसुवालाई एमाले संगठनको नमूना जिल्ला बनाएको तर आफूमाथि जिल्ला इञ्चार्जसहितका नेताबाट पटक–पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको भन्दै ढकालले पार्टी छाडेको घोषणा गरेका हुन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘फेस टु फेस’मा पत्रकार रामचन्द्र अर्यालसँगको कुराकानीमा अध्यक्ष ढकालले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको बताएका छन् ।

Advertisement

शनिबारको कार्यक्रममा उनले भनेका छन्, ‘फेरि पनि मलाई यही पार्टीभित्र बसेर, त्यही थलोमा, त्यही व्यक्तिहरुसँग बसेर काम गर्न सक्ने मेरो जोश, जाँगर, इच्छा छैन । त्यसकारण आज म यो मिडियामार्फत् नेकपा एमालेको जिल्ला पार्टीको अध्यक्ष र संगठित सदस्यको भूमिकाबाट भूमिकाविहीन भएर स्वतन्त्र नागरिक भएको आजैबाट घोषणा गर्न चाहन्छु ।’

आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरेका हुन् ।

Advertisement

तत्कालीन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भूमिका खेलेका ढकाल पछिल्लो समय एमाले रसुवा जिल्ला इञ्चार्ज प्रेम तामाङको पेलानमा थिए ।

प्रेम तामाङ राप्रपा हुँदै माओवादी, जसपा, नयाँ शक्ति र नेपाली कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका थिए । उनलाई पार्टीले केन्द्रीय सदस्य र एमाले रसुवा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको थियो ।

हालैको जिल्लाको बैठकमा तामाङ समूहबाट उनीमाथि आक्रमण भएको थियो । यस घटनालाई पार्टीका नेताहरुले गम्भिरतापूर्वक नलिएको उनको गुनासो छ ।

यसबारे पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाई अवगत गराए पनि गम्भिर रुपमा नलिई ‘तपाईंहरु मिल्नुस्’ मात्र भनेको ढकालको गुनासो छ ।

गल्छी–त्रिशूली–स्याफ्रु सडक बनाउन पहल गरेको, रसुवागढी नाका सुधार र सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेलेका ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे ।

रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्तासमेत दबाबमा परेका छन् ।

प्रतिक्रिया