स्वास्थ्यमन्त्री पौडेललाई खोयाको माला

नुवाकोट । खोयाको माला ? सुन्दा आश्चर्य लाग्न सक्छ ।

पाँचथरको फालेलुङ पुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई शनिबार गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले मकैका खोयाबाट निर्मित माला लगाइदिए । सँगै रहेका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले मकैकै खोस्टाबाट तयार पारिएको फूलगुच्छा हातमा थमाए भने कर्मचारीहरुले खोस्टा निर्मित ब्याच लगाइदिए ।
अतिथिहरुको आसन ग्रहण सकिएलगत्तै अध्यक्ष र उपाध्यक्ष दुवैले मन्त्री पौडेल र पूर्वसांसद सीता थेबेलाई भेडाको ऊनबाट बुनेको अस्कोट पहिर्याए, मञ्चमा आसीन सबैलाई एकपछि अर्को गर्दै ऊनबाटै बुनेका टोपी लगाइदिएर सत्कार गरे ।
गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहका लागि तयार पारिएको स्टेजअगाडि राखिएको टी टेबल पनि खोस्टाबाट निर्मित फूल गुच्छाले सजाइएको थियो ।
फालेलुङमा रैथाने मकैका खोया र खोस्टाबाट निर्मित सामग्री प्रयोग गर्न थालिएको जानकारी पाएका मन्त्री पौडेलले मन्तव्यका क्रममा गाउँपालिकाको यो अभियानलाई खुलेरै प्रशंसा गरे ।
‘पछिल्लो समय विकास भन्नेबित्तिकै ठूला भवन र पूर्वाधारलाई मात्रै बुझ्ने गरिन्छ । यो गलत हो, यहाँ निर्मित अस्पताल र प्रशासकीय भवनमा करोडौं खर्च भएको छ, त्यो पैसा सडकको स्तरवृद्धिमा लगानी गरेर भवनमा स्थानीय सामग्री प्रयोग गर्न सकिन्थ्यो,’ मन्त्री पौडेलले भने, ‘ अब बन्ने पूर्वाधारमा स्थानीयता र मौलिकता झल्किनु पर्छ ।’
फालेलुङकै उत्पादनले आफूलाई स्वागत गर्दा हर्षित भएको उनको टिप्पणी थियो ।
फालेलुङमा अतिथि सत्कारका लागि आयातित ब्याच र खदा प्रतिबन्ध लगाइएसँगै मकैका खोया र खोस्टाबाट सामग्री निर्माण गर्न तालिम नै चलाइएको थियो । ५ नम्बर वडामा सञ्चालित सामुदायिक होम स्टेले त्यस्ता सामग्री निर्माण गर्दै आएको छ ।
फालेलुङमा बाहिरबाट आयात गरिएका ब्याच र खदा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । स्थानीय उत्पादनलाइ प्रवर्द्धन गर्ने उद्देश्यले एक वर्षअघि गाउँपालिकाले ब्याच र खदा प्रयोग नगर्ने नीति अनुमोदन गरेको थियो । सोहि नीति कार्यन्वयन गर्न गाउँपालिकाले आयोजना गरेका सबै कार्यक्रममा मकैका खोस्टा र खोयाबाट बनाइएका सामग्रीले अतिथि सत्कार गर्न थालेको हो ।
‘ब्याच र खदा प्रयोग नगर्ने निर्णय पारित भएको एक वर्षसम्म गाउँमै उत्पादन भएको फूलका माला र गुच्छा प्रयोग गर्यौं । पुष्पगुच्छा चाँडै ओइलाउने भएकाले टिकाउ हुने सामग्रीको विकल्प खोज्दै मकैका खोस्टा र खोयाका सामग्री प्रयोग गर्न थालेका हौं,’ गाउँपालिका अध्यक्ष थाम्सुहाङले भने ।
स्थानीय शिल्पकुमार राईका अनुसार खोस्टाबाट फूल बनाउन रङ र बाइडिङ तारबाहेक अरु सामग्री आवश्यक पर्दैन । कैंचीले काटेर चार कुना मिलाइएका खोस्टा नुन पानीमा भिजाएर रङ लगाएपछि फूल बनाउन तयार हुन्छन् ।
यस्तै मकैका खोयालाई साइज मिलाएर काटेपछि रङ भरेर डोरीमा उन्दा आकर्षक माला तयार हुन्छ । यसरी खोया र खोस्टाबाट अतिथि सत्कारका सामग्री निर्माण गर्दा सस्तो र सजिलो हुने राईले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया