नुवाकोटमा स्ववियु निर्वाचनको लागि विद्यार्थी संगठन तयार

विदुर खबर २०८१ फागुन ९ गते २०:२३

नुवाकोट । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै नुवाकोटको मुख्य क्याम्पसहरुमा विद्यार्थीको चहलपहल बढ्न थालेको छ ।

Advertisement

नुवाकोटको मुख्य क्याम्पसको रुपमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस, त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस, महादेव बहुमुखी क्याम्पस, रणभुवनेश्वरी क्याम्पस र अमरज्योती बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चहलपहल बढ्न थालेको हो ।

नेपाल विद्यार्थी सङ्घ नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेकोे बताए । उनले नेविसंघ सधेँ विधि र पद्धतिमा चल्ने भएकोले निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताए ।

Advertisement

उनले बट्टार र त्रिशुली क्याम्पसको स्ववियु निर्वाचनलाई प्राथमिकता राखेर छलफल अगाडी बढिरहेको विदुर खबरलाई जानकारी दिए ।

यस्तै अनेरास्ववियु नुवाकोटका अध्यक्ष फैसल दिनले स्ववियु निर्वाचनको लागि आफ्नो संगठनले तयारी शुरु गरिसकेको बताए ।

Advertisement

उनले सबै विद्यार्थी सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने उल्लेख गरे । उनले केन्द्रको सर्कुलर अनुसार आफुहरु अगि बढ्ने बताए ।

त्यस्तै अखिल क्राान्तिकारी नुवाकोटका पुर्व नुवाकोट ईन्चार्ज विनोद कोइरालाले आफ्नो संगठन अखिल सधैँ क्रान्तिकारी हरेक निर्वाचनमा सहभागी हुँदै आएको भन्दै निर्वाचनका लागि तयार रहेको बताए ।

उनले अखिल क्रान्तिकारी सधैँ निर्वाचन हुनुपर्ने पक्षमा रहेकोले निर्धारित समयमै निर्वाचन हुने विश्वास समेत व्यत्त गरे ।

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु चुनाव ५ चैतका लागि तोकिसकेको छ । जसमा सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठन क्रमशः नेविसंघ र अनेरास्ववियुले चुनावी तालमेल नगरी चुनावमा होमिने निर्णय लिएका छन् ।

स्ववियु निर्वाचनको लागि जिल्लामा रहेका विभिन्न विद्यार्थी संगठनहरुले संवाद गरिरहेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले केन्द्रको निति अनुसार जिल्लामा तालमेल नगरी प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । घोषित तालमेल नहुने तर क्याम्पसको वस्तुगत अवस्था हेरेर विद्यार्थी संगठनबीचमा सहमति गर्न सकिने नेविसंघ नुवाकोटका अध्यक्ष भट्टले जानकारी दिए ।
यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटका अध्यक्ष दिनले भने, ‘यो चुनाव हामी एक्लाएक्लै नै लड्ने भन्ने छ । नीतिगत तालेमल हुँदैन । स्थानीय आवश्यकता अनुसार साथीहरुले के गर्छन् थाहा भएन । जे हुन्छ केन्द्रको सर्कुरल र आवश्यकताको आधारमा हुन्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले समाजवादी मोर्चामा रहेका दलका विद्यार्थी संगठनहरूसँग सहकार्य गरेर स्ववियु चुनावमा लाग्ने तयारी गरेको छ । कांग्रेस र एमाले निकटका विद्यार्थी संगठनहरू एक्लाएक्लै लड्ने तयारी गरेपछि अखिल क्रान्तिकारीको ध्यान समाजवादी मोर्चाका विद्यार्थी संगठनतिर गएको छ । समाजवादी मोर्चामा भएका दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी छन् ।

अखिल क्रान्तिकारीले स्ववियु चुनावको तयारीका लागि ‘क्रान्तिकारी स्ववियु काउन्सिल’ को भेला फागुन १० र ११ गतेको लागि राखेकोले त्यसबाट केही खाका आउने अखिल क्रान्तिकारी नुवाकोटका पुर्व जिल्ला ईन्चार्ज कोइरालाको भनाइ रहेको छ ।

यसअघि स्ववियु निर्वाचन २०७९ सालमा भएको थियो ।

प्रतिक्रिया