रविलाई २१ वर्ष जेल सजाय दिन मागदाबी

विदुर खबर २०८१ पुष १८ गते ८:५४

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सहकारी ठगी, कालोधन आर्जनलगायतका मुद्दामा सरकार पक्षले २१ वर्ष जेल सजाय हुनुपर्ने दाबी गर्दै प्रतिवेदन तयार पारेको छ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुअघि नै संगठित अपराध, ठगीमा संलग्न रहँदै आएका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि पनि आफ्नो ठगी धन्दालाई निरन्तरता दिँदै आएको पाइएको काठमाडौं प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पोखरापछि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। प्रहरीले बुझाएको प्रतिवेदनमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्दै लामिछानेको संलग्नता रहेको सहकारी ठगीमा ७ वर्ष जेल सजाय हुनुपर्ने रायसमेत पेस गरेको छ। सहकारी ठगीमा सात वर्ष भए पनि कालोधन आर्जनलगायतका मुद्दामा गरी २१ वर्षसम्मको जेल सजायको माग दाबी गरिएको हो।

Advertisement

जिल्ला अदालत कास्कीमा लामिछानेसहितको ठगी मुद्दामा बहस सकिएपछि अहिले थुनछेक बहस शुरू भइरहेको बेला जिल्ला अदालत काठमाडौंमा समेत सोही प्रकृतिको ठगी मुद्दामा कारबाही अघि बढ्ने भएको हो। काठमाडौं जिल्ला प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको सो कार्यालयका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिनुभयो।

काठमाडौं प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपियाँ अपचलनमा लामिछानेसहित ४४ जनाको संलग्नता रहेकाले कारबाही अघि बढाउन पनि सरकारी वकिललाई राय दिएको छ।
काठमाडौं प्रहरीले लेखा समिति सदस्य सुनिता नेवा र ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेको थियो।

Advertisement

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साडुभाइ नाता पर्ने दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेका माओवादी नेता तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ। सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्य रहेर ठगी गर्ने गिरोहमा संलग्न रहँदै आएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ। दिपेश पुन बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटे पनि अहिले प्रहरी निगरानीमा रहेका छन्।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ५ हजार ६ सय ६९ जना बचकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपियाँ जम्मा गरे पनि सो सहकारीले अहिलेसम्म एक रुपियाँ पनि बचतकर्ताको रकम फिर्ता गरेको छैन। स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेका रास्वपा सभापति लामिछानेमाथि सरकारी पक्षले लगाएको अभियोग सही रहेको अधिवक्ता स्वागत नेपालले बताउनुभएको छ।

अधिवक्ता नेपालले लामिछानेमाथि लगाएको अभियोगमा सहकारी ठगीसहित कालिकोटको रास्कोट अस्पतालमा भएको अनियमितता, श्रीमती निकिता पौडेलको नाममा पठाइएको रकमको स्रोत अहिलेसम्म नखुलेकाले सरकारी पक्षले लगाएको अभियोग ठीक र साँचो रहेको बताउनुभयो।

स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा १ करोड ८२ लाख रुपियाँ अवैध तरिकाले गएको र त्यसलाई मनमौजी ढंगले खर्च गरेको भेटिएको काठमाडौं प्रहरीले बताएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको पाइएको काठमाडौं प्रहरीले तयार पारेको अभियोजन पत्रमा उल्लेख गरिएको छ।

स्वर्णलक्ष्मी सहकारीबाट रवि र जीबीको नाममा प्रवाह भएको ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख रुपियाँसमेत नतिरेको र उक्त रकम रवि र जीबीले मिलेर अपचलन गरेको फेला परेको पनि प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया