त्रिशूली अस्पतालमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा निशुल्क
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त सेवा निःशुल्क गरिएको छ । एक सय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाँटी रोगको विशेषज्ञ सेवा नहँुदा काठमाडौं जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रूपमा सञ्चालन हुने गरेर सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।
उनको अनुसार विशिष्टीकृत सेवा विस्तारको क्रममा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो । ‘नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाँटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ,’ उनले भने, ‘बहिरङ्ग सेवा (ओपिडी) निःशुल्क गरिएको छ ।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना छ ।’ अहिले पाक्षिक रूपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रियासमेत उपलब्ध गराउन लागिएको छ ।
निःशुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हँुदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ ।
ओपिडी जाँचबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएकालगायतका नाक, कान र घाँटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवासमेत उपलब्ध गराउन लागिएको हँुदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रूपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक लामाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया