त्रिशुली अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव

विदुर खबर २०८१ मंसिर २० गते ९:०६

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने एन्टीरेबिज भ्याक्सिन (एआरभी) दुई महिनादेखि अभाव भएको छ ।

Advertisement

विगत दुई महिनादेखि अस्पतालमा भ्याक्सिनको अभाव भएको त्रिशुली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए । केन्द्र र प्रदेशबाट भ्याक्सिन नआएकोले अस्पतालमा अभाव देखिएको उनले बताए । भ्याक्सिन माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको डा. लामाले बताए ।

डा. लामाका अनुसार कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइने गरिन्छ । उनका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ ।

Advertisement

अस्पतालमा दैनिक ४/५ जना कुकुर, स्याल र बिरालाले टोकेका बिरामी आउने गरेका छन् । तर, उनीहरू कसैले पनि एन्टी रेबिज भ्याक्सिन पाउन सकेका छैनन् । केहीले निजी क्लिनिकबाट महँगोमा किनेर लगाउँछन् ।

अस्पतलामा कार्तिक महिनामा मात्र कुकुरले टोकेका २५ जना र मंसिरमा मात्र ३४ जना विरामी अस्पताल आएका छन् । अस्पतालमा एन्टीरेबिज भ्याक्सिन अभाव भएपछि स्थानिय तहसँग सहयोग मागिरहेको डा. लामाले जानकारी दिए ।

Advertisement

यसैक्रममा बुधवार विदुर नगरपालिकाले अस्पताललाई ४० डोज भ्याक्सिन उपलब्ध गराएको छ ।

 

प्रतिक्रिया