रसुवागढी नाका तीन सातादेखि ठप्प

विदुर खबर २०८१ कार्तिक १ गते २०:०१

नुवाकोट । असोज दोस्रो साताको बाढीपहिरोले मोटरेबल पुल तथा सडक क्षति गरेपछि नेपालको चीनसँग जोडिएको प्रमुख नाका रसुवागढीबाट हुँदै आएको व्यापार लगभग ठप्प जस्तै भएको छ ।

Advertisement

बाढीपहिरो अघि नै दसैँ र तिहारका लागि झिकाइएका व्यापारिक मालवस्तु चीनको विभिन्न सहर र बाटोका गोदाममा थन्केको छ । व्यवसायीका अनुसार स्याउ, लसुन, ओखर, किबी, आँप, ड्रागन फुटलगायतका फलफूल तथा मसलाजन्य खाद्यवस्तु कामै नलाग्ने गरी सडेका छन् । तयारी पोसाकलगायतका व्यापारिक वस्तु तिहारअघि नेपाल ल्याउन असम्भव जस्तै छ । त्यस्ता सामान बोकाएर ल्याउन पनि असम्भव भएको व्यवसायीको भनाइ रहेको छ ।

केरुङमा गोदाम गरिएका र कन्टेनरमा लोड गरिएको फलफूल कुहिएको गन्ध बाहिरै आउन थालेको छ । स्याउ आयातकर्ता राजेश भण्डारीका अनुसार फलफूल लोड गेरेर केरुङ भन्सार क्लियर गरेको कन्टेनरबाट पानी चुहिन थालेको छ । ‘मेरो झन्डै तीन हजार कार्टुन स्याउ लोड गरेर कन्टेनर राखिएको छ । केरुङमा रहेको उक्त कन्टेनरबाट पानी चुहिन थालेको खबर पाएको छु । अब स्याउ सबै मिल्काउनुपर्छ,’ भण्डारीले दुःखेसो गरे ।

Advertisement

केरुङ भन्सार क्लियर गरेको कन्टेनरको वस्तु कोल्डस्टोरमा राख्ने वा कतै लैजाने गर्न मिल्दैन । काठमाडौं ल्याउन केरुङ–रसुवागढी सडक क्षतविक्षत भएकोले आफ्नो सामान जोगाउने कुनै उपाए नै नभएको गुनासो व्यवसायीको छ । केरुङ र ल्हासमा रहेको केही कन्टेनरको फलफूल भने कोल्डस्टोरमा राखिएको छ । कोल्डटोरको क्षमता कम भएकाले सबै सामान अटाउने अवस्था नभएको व्यवसायीले बताए ।

रसुवागढी नाकाबाट तिब्बतको केरुङसम्म करिव २४ किमि सडकको अधिकांश भाग क्षति गरेको छ । केरुङबाट सामान बोकाएर ल्याउने सम्भावना छैन ।

Advertisement

रसुवागढी र केरुङ जोड्ने चीनतर्फको सडक मान्छे हिँड्नसमेत नहुनेगरी क्षतविक्षत भएको छ । दसैँ अगाडि नै केरुङ गएका नेपाली व्यवसायी तथा कर्मचारीहरूलाई सुरक्षाकर्मीको सहयोगमा रसुवा ल्याइएको थियो । कतिपय स्थानमा डोरी लगाएर सडक पार गर्नुपर्ने अवस्था रहेको छ । चिनियाँ अधिकारीहरूले सडक मर्मतको काम भइरहेको जानकारी गराएपछि खुल्ने समय तोक्न सकेका छैनन् ।

रसुवाबाट काठमाडौं जोड्ने सडक भने दसैँ अगावै सञ्चालन भएको थियो । रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार केरुङतर्फको सडक तिहारअघि खुल्ने सम्भावना छैन । चिनियाँ पक्षले सडक खुलाउन कम्तिमा अझैं १५ दिन लाग्ने सूचना दिएको उनले बताए । गत असोज २१ गतेदेखि भन्सारको राजस्व संकलन ठप्प रहेको उनले बताए ।

‘बाढीपहिरो अघि नै आएका कन्टेनरका सामान भन्सार पास भएर काठमाडौं आइसकेको छ,’ उनले भने, ‘अब सडक सञ्चालन नभइ व्यापार सुरु गर्ने अवस्था छैन ।’ केरुङको सडक पहाड फोरेर नभइ खोलाबाटै उठाएर बनाएको धेरै भाग रहेको छ । चिनियाँ अधिकारीहरूले सीमाका नेपालीहरूलाई दिएको जानकारीअनुसार सुरुङ मार्ग र खोला नजिकैको सडकलाई बल्लतल्ल मान्छे हिँड्ने गोरेटो बनाइएको छ ।

चीनबाट विशेषतः तयारी पोसाक ठूलो परिणाममा नेपाल भित्रने गरेको छ । रसुवा भन्सार प्रमुख भट्टराईका अनुसार ती सामान तत्काल काठमाडौं पुग्ने सम्भावना छैन । चीनबाट मुख्यतया तयारी पोसाक, जुत्ता, व्याग, ज्याकेट, कस्मेटिक, स्टेसनरी सामान, कृषि तथा जलविद्युतका औजारहरू, इलेक्ट्रिक गाडीलगायतका समान आयात हुने गरेको छ ।

केरुङ तथा तातोपानी नाका भएर नेपाल भित्रन लागेका करोडौं मूल्यका सयौं कन्टेनर व्यापारिक सामान बाटैमा अलपत्र भएको दाबी व्यवसायीको रहेको छ । अहिले दसैँ तिहार र जाडोका सामान गोदाम र बाटोमा अलपत्र रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।

‘एउटा सिजनमा ल्याइएको सामान अर्को सिजनमा बेच्न सकिँदैन,’ उनले भने, ‘यसपटक धेरै व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परेको छ । उनले चीनसँग स्थल मार्गबाट हुने व्यापारको ठूलो हिस्सा उत्तरी नाकासँग सम्बन्धित भएकाले सरकारी निकायले सडक खुलाउन तत्परता देखाउनुपर्ने बताए । उनले तातोपानी र रसुवा नाकाबाट हुने व्यापार सहजीकरणमा सरकारी चासो बढी हुनुपर्ने बताए ।

प्रतिक्रिया