लाङटाङ ट्रेक: कहाँबाट जाने ? कति लाग्छ खर्च

विदुर खबर २०८१ असोज २५ गते २१:०७

नुवाकोट । मनमोहक हिमशृङ्खलाको अवलोकन गर्न काठमाडौंबाट सबैभन्दा नजिकको ट्रेकिङ रुट हो लाङटाङ ट्रेकिङ ।

Advertisement

अक्टोबर र नोभेम्बर महिना ट्रेकिङको लागि बेस्ट सिजन मानिन्छ, यही समयमा पर्छ नेपालीहरुको ठूलो चाड बडा दशैं । दशैं बिदामा ट्रेकिङमा जाने प्रचलन अहिले नौलो रहेन । दशैं बिदामा हरेक ट्रेकिङ रुटमा विदेशीहरु भन्दा बढी नेपालीहरु नै भेटिन्छन् ।

लाङटाङ पदमार्ग लाङटाङ खोला सँगसँगै अघि बढ्छ । बीचबीचमा भेटिने अनुपम झरनाहरुमा अझ रमाउँछन् पर्यटकहरू । काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिक र प्राकृतिक सौन्द्रर्य भएकाले लाङटाङ ट्रेकिङ आएको अन्तरिक पर्यटकहरू बताउँछन् ।

Advertisement

आँखाको लेन्सबाट लिन सकिने आनन्द क्यामेरामा कैद गर्न नसकिने रहेछ । ‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने रहेछ । क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो । सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू पनि छन्–दशैं बिदा अघि नै लाङटाङ ट्रेक गरेर फर्किएका हरि शर्माले बताए ।

अहिले मौसम सफा छ । दसैँको बिदा पनि भएकाले यो रुटमा ट्रेकिङ जानेको लर्को लाग्ने निश्चि छ । दशैं अगाडि खासै होटलहरु भरिभराए नभएपनि दशैं पछाडि जानेहरुलाई भने अगाडि नै बुकिङ गरेर मात्रै जान उनले सुझाव दिए ।

Advertisement

कहाँबाट जाने ? कति लाग्छ खर्च ?

काठमाडौंबाट जाने हो भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ । यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जान्छन् ।

क्यान्जिङ गुम्बाबाट क्यान्जिङ री–१ साढे १ घण्टा र क्यान्जिङ–२ साढे २ घण्टामा पुगिन्छ । क्यान्जिङ रीबाट फर्किएर लाङटाङ आएर बास बस्दा राम्रो हुन्छ । र, लाङटाङबाट स्याफ्रुबेँसी आएर सवारीसाधनमा आफ्नो घर फर्किन सहज हुन्छ ।

लाङटाङ ट्रेल राम्रो र सहज भएकाले ५ दिनमा पूरा गर्न सकिन्छ । लाङटाङ ट्रेकिङका लागि कति खर्च लाग्ला भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ । ५ दिनका लागि बिहान बेलुकाको दालभात खान र बस्नका लागि अधिकतम १५ हजार भए पुग्छ । हरेक बासस्थानहरुमा बिहानको ब्रेकफास्ट, बेलुकीको खाना र कोठा गरेर १२ सयदेखि २ हजारसम्म लिने गरेका छन् । बाटोमा खानका लागि काजु, किसमिस, ओखर, बदाम, बिस्कुट, क्याटबरी चक्लेट भने आफूले छुट्टै लैजानुपर्छ ।

 

प्रतिक्रिया