एक वर्षमा नुवाकोटका एकसय २५ जना बेपत्ता

विदुर खबर २०८१ भदौ २२ गते २१:२१

नुवाकोट । नुवाकोटबाट गत आर्थिक वर्षमा एकसय २५ जना हराएका छन् ।

Advertisement

प्रदेश प्रहरी कार्यालय हेटौंडाका तथ्याङ्क अनुसार नुवाकोटमा गत आवमा १ सय २५ जना महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका हुन् । हराएका मध्ये १ सय ११ जना फेला परेका छन् भने १४ जना फेला पर्न सकेका छैनन् ।

त्यस्तै धादिङमा गत आवमा ४८ जना महिला हराएकामा ३५ जना फेला परेका थिए भने १३ जना अझै सम्पर्कविहीन छन् । १४ जना बालिका हराएकामा १२ जना फेला परेका छन् । २ जना अझै बेपत्ता छन् । बालक ७ जना हराएकामा ५ जना फेला परेका छन्, २ जना बेपत्तै छन् भने ज्येष्ठ नागरिक २ जना हराएकामा एक जना फेला परेका छन् भने एक जना बेपत्ता नै छन् । धादिङमा ७१ जना हराएकामा ५३ जना फेला परेको तथ्यांक छ भने १८ जना फेला परेका छैनन् ।

Advertisement

यस्तै रसुवामा गत आवमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरेर २२ जना हराएका थिए । तीध्ये १६ जना फेला परे । ६ जना अझै फेला पार्न नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १० जना महिला हराएकामा ४ जना अझै बेपत्ता छन् । एक÷एक जना ज्येष्ठ नागरिक र बालक फेला पर्न सकेका छैनन् ।

वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लामा गत आवमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी १ हजार ३ सय ४५ जना हराएका थिए । हराएका मध्ये १ हजार १ सय ६५ जना फेला परेका छन् भने १८० जना अझै बेपत्ता छन् ।

Advertisement

उपत्याका बाहिरका १० जिल्लामा गत आवमा ७ सय ६७ जना महिला हराएका थिए, तीमध्ये ६ सय ४७ जना फेला परे भने १ सय २१ जना अझै बेपत्ता छन् । त्यसैगरी आव २०८०÷०८१ मा ३८५ बालिका हराएकामा ३५५ जना फेला परेका छन् भने ३० जना अझै हराइरहेका छन् । १२० जना बालक हराएकामा १०६ जना फेला परेका छन् भने १४ जना सम्पर्कविहीन छन् । ७३ जना ज्येष्ठ नागरिक हराएकामा ५८ जना फेला परेका छन् भने १५ जना अझै हराएकै छन् ।

‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ,’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर बेपत्ता पार्छन्, पत्ता लगाउन मुस्किल परेको छ ।’ प्रहरी कार्यालयको सूचीमा बेपत्ता भनिएकाहरू पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सूची धेरै देखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक सीताराम  रिजालले भने । ‘छोरी, बुहारी, नातिनातिनाहरू हराउँदा परिवारका आफन्तहरू रुँदै निवेदन दिन आउने गर्छन् तर पछि फलोअप गर्दैनन् र घर फर्केको पनि जानकारी दिंदैनन्,’ उनले भने, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने गर्दा बेपत्ता महिला र बालबालिकाको संख्या धेरै देखिएको हो ।’

महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर विदेशमा लगेर बिक्री गर्ने गरेको बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवालीले बताए । ‘पैसाको लोभमा परेर महिला र बालबालिकाहरू दलालहरूको फन्दामा पर्ने गरेका छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीको प्रलोभनमा पारेर महिला र सर्कस आदिको आकर्षण देखाएर बालबालिकालाई आकर्षण गर्ने गरिएको पनि पाइएको छ ।’

 

प्रतिक्रिया