नुवाकोटको ताँदी-घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न

विदुर खबर २०८१ भदौ १८ गते ११:५९

नुवाकोट । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाट क्षमताको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधि बीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । उक्त आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।

प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका ताँदीमा निर्माण हुनेछ । यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । उक्त आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भइसकेको छ ।

Advertisement

प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर छ । यो जलविद्युत आयोजनाका लागि २ हजार २८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । साथै १ हजार ६३२.०८ मिटर लम्बाइको पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमि प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोड्ने लक्ष्य छ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार आगामी २०८४ बैशाख मसान्तबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो ।

Advertisement

प्रतिक्रिया