रसुवाको स्याउबारीमा व्यावसायिक च्याउखेती सुरु

विदुर खबर २०८१ भदौ ८ गते १३:०१

रसुवा । रसुवाको कालिका गाउँपालिका-२ स्याउबारीमा व्यावसायिक च्याउखेती सुरु भएको छ ।

Advertisement

च्याउखेतीका लागि अनुकूल हावापानी रहेको रसुवाको उक्त क्षेत्रमा स्थानीय चार युवाको रु. ६ लाखको लगानीमा १५ टनेल बनाइएको छ ।स्थानीयवासीको १० रोपनी जग्गा भाडामा लिएर विकास तामाङ, प्रवीण घिमिरे, मनीष श्रेष्ठ र सन्देश पौडेलले च्याउखेती थालनी गरेका हुन् । व्यक्तिगत लगानीमा जेके एग्रो रिसोर्ट फर्म दर्ता गरेर उनीहरूले च्याउखेती थालेका छन् ।

एक टनेल निर्माण भई त्यसमा च्याउ उम्रिने तयारीमा छ भने बाँकी १४ टनेल भदौ महिनाभरि निर्माण सक्ने गरी काम भइरहेको सञ्चालकमध्येका घिमिरेले बताए । भौगोलिक दृष्टिकोणले आठ सयदेखि १४ सय मिटरको उचाइ भएका ठाउँमा चैतदेखि कात्तिकसम्म र सोभन्दा कम उचाइ भएका स्थान तराईमा कात्तिकदेखि माघसम्म च्याउको खेती राम्रो हुने प्राविधिकले बताएका छन् ।

Advertisement

काठमाडौँमा भने फागुनदेखि कात्तिकसम्म च्याउखेती गर्न सकिने प्राविधिकले जनाएका छन् । च्याउखेती परालबाहेक मकैको खोया, खोस्टा, काठको धुलो र गहुँको छ्वालीमा पनि गर्न सकिन्छ ।

यसका लागि २० देखि ३० डिग्री सेल्सियस र सापेक्षित आद्र्रता ८० प्रतिशत हुनुपर्ने प्राविधिकले बताएका छन् । रिसोर्टमा किबी खेतीसमेत गरिएको छ । शुद्ध प्राङ्गारिक खानालगायत आरामदायी वास र सुन्दर मनोरम दृश्यावलोकनका लागि रिसोर्ट उपयुक्त रहेको जिकिर सञ्चालकले गरेका छन् ।

Advertisement

प्रतिक्रिया