खम्पा क्याम्पमा भदौमै केन्द्रीय कारागार सञ्चालन
नुवाकोट । नुवाकोटको विदुर–६ खम्पा क्याम्पमा निर्माणाधीन केन्द्रीय कारागारको निर्माण पूरा भएसँगै कैदीबन्दी स्थानान्तरण यही महिनाभित्र गरिने भएको छ ।
केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।काठमाडौँ उपत्यका र आसपासका कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नुवाकोटमा निर्माणाधीन प्रस्तावित केन्द्रीय कारागार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनालगायत कारागार निर्माण गर्ने ठेकेदार कम्पनी तथा नगरपालिकाबिच गत हप्ता कारागार भवनको निरीक्षण गरी १५ दिनभित्र सञ्चालन गर्ने सहमति भएको छ । निर्माण सम्पन्न भएको कारागार भवन निर्माण कम्पनीले भदौको पहिलो हप्ताभित्र सहरी विकास मन्त्रालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइलाई बुझाउने भएको छ ।
त्यसलगत्तै उक्त कारागार गृह मन्त्रालयमार्फत कारागार व्यवस्थापन विभागलाई हस्तान्तरण गर्ने अन्तिम तयारी भइसकेको महानिर्देशक आचार्यले बताए । कारागारसम्म पुग्ने सडक नगरपालिकाले बनाउने सहमतिअनुसार अहिले सडक मर्मत र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको प्रजिअ अधिकारीले जानकारी दिए । क्षमताको दृष्टिले देशकै ठुलो र व्यवस्थित सो ‘झ्यालखाना’ सञ्चालन गर्नुअघि त्यसको सुरक्षा, विभिन्न स्थानमा रहने सुरक्षा चौकी तथा आवश्यक सुरक्षाकर्मी राख्नेबारेमा कारागार विभागले गृह मन्त्रालयसँग समन्वय गरिसकेको जनाएको छ ।
महानिर्देशक आचार्यका अनुसार कारागार सञ्चालन गर्दा पहिलो चरणमा जिल्ला कारागार नुवाकोटमा रहेका एक सय ५९ कैदीबन्दीलाई स्थानान्तरण गरिनेछ । त्यसलगत्तै रसुवा, धादिङसहित केन्द्रीय कारागार जगन्नाथ देवल डिल्लीबजार कारागार र नख्खु कारागारमा क्षमताभन्दा बढी स्थानान्तरण गर्ने योजना रहेको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित कारागारमा सीप तथा स्वरोजगार तालिम, खेलकुद तथा व्यायामशाला, स्वास्थ्य केन्द्रलगायत स्थापना गर्ने तयारी अगाडि बढेको विभागले जनाएको छ ।
महिलाका लागि एक र पुरुषका लागि चार ब्लकसहित संरचना निर्माणको काम पूरा भएको छ । कारागार निर्माणको पहिलो चरणमा जग्गाको चार किल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० कैदीबन्दी अट्ने क्षमताको पाँच ब्लक निर्माण गरिएको भवनमा कैदीबन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेलमैदानसहित आधुनिक एवम् सुविधासम्पन्न संरचना निर्माण गरिएको छ ।
यसअघि तेस्रो चरणको कामका लागि ठेक्का निकालेर सम्झौता प्रक्रियामा पुगे पनि निर्माण स्थगन गरिएको थियो, तर सरकारको निर्णयअनुसार नुवाकोटमा करिब सात हजार कैदीबन्दी अट्ने संरचना निर्माण गर्ने लक्ष्यअनुसार नै काम अघि बढाइने महानिर्देशक आचार्यले ‘त्रिशूली प्रवाह’ साप्ताहिकसँगको कुराकानीमा बताए । केन्द्रीय कारागार निर्माणको ‘गुरुयोजना’मा समावेश भएकामध्ये निर्माण गर्न बाँकी भौतिक संरचना तेस्रो चरणको कार्यक्रममा समावेश हुने अनुगमनपश्चात् प्रजिअ अधिकारीले जानकारी दिए । यहाँ अझै पाँच हजारभन्दा बढी कैदीबन्दी राख्ने संरचनासहित अस्पताल, शिक्षालयसहितको संरचना निर्माण गर्न बाँकी छ ।
वि.सं. २०७० चैत २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काठमाडौँमा रहेको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सङ्घीय संरचनानुसार नुवाकोटमा निर्मित कारागारलाई केन्द्रीय कारागार र सातै प्रदेशकालाई प्रादेशिक कारागार भनिनेछ । सबै जिल्लामा एक–एक आधुनिक कारागार बनाउने सरकारको लक्ष्य छ । कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार निर्माणाधीन नुवाकोट कारागारका चार ब्लक सङ्घीय आयोजना कार्यान्वयन एकाइले कारागार व्यवस्थापन विभागलाई बुझाउने तयारी गरेको छ । कारागार सञ्चालनका लागि नुवाकोट जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँग समेत कारागार सञ्चालन सम्झौता (ओ एन्ड एम) पनि सम्पन्न भएको छ ।
कारागार विभागले कारागार सञ्चालनका लागि आवश्यक सुरक्षाका तथा अन्य व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय गरी जिप्रका नुवाकोटसँग पनि आवश्यक छलफल गरेको जनाएको छ । कारागारको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग पनि ओ एन्ड एमको तयारी भइरहेको छ ।
काठमाडौँको केन्द्रीय कारागार (जगन्नाथ देवल) स्थानान्तरण योजनाअन्तर्गत नुवाकोटमा सात हजार क्षमतामा निर्माण गर्ने भनिएको छ । कारागार विभागका निर्देशक पाण्डेका अनुसार नुवाकोट, खम्पा क्याम्पको ६ सय ४५ रोपनी जग्गामा साढे सात अर्ब रुपैयाँको लगानीमा बन्ने योजना रहेको प्रस्तावित केन्द्रीय कारागार पहिलो र दोस्रो चरणमा निर्माण सम्पन्न भएकाले तीन सय ७० क्षमताका चार ब्लक यस महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
बाँकी १२ ब्लकको निर्माणका लागि भने ठेक्का लाग्न बाँकी छ । । सो कारागारमा विद्यालय, अस्पताल, सीपमूलक कारखाना, बायोग्यास प्लान्टलगायत भौतिक संरचना निर्माण गर्ने योजना भए पनि कहिले काम सुरु हुन्छ भन्न सक्ने अवस्था छैन । कारागारमा आजीवन कारावासको सजाय तोकिएका र गम्भीर अपराधमा दोषी ठहर भएका कैदीलाई राख्ने तयारी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया