बागमतीमा ७२ हजार पशुलाई लम्पी स्किनको खोप

विदुर खबर २०८१ भदौ १ गते ११:४०

नुवाकोट । गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियानअन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।

Advertisement

यो खोप अभियानको लक्ष्यभन्दा ४ हजारले कम हो । बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा गरि ७६ हजार २७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेकोमा ७१ हजार ९७७ पशुमा खोप लगाइएको पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक गौरिमान श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले २५ साउनदेखि ३१ गतेसम्म ११९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान चलाएको थियो । बागमती प्रदेशको १३ वटा जिल्लामा गाई/गोरु/साँढे ३६ हजार ९ सय १४, बाच्छा/बाच्छी १० हजार १ सय १३, राँगो/भैंसी १६ हजार ७ सय ३८ र पाडा/पाडी ८ हजार २ सय १२ वटा गरी ७१ हजार ९ सय ७७ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० वटा गाईभैंसीमा खोप लगाइएको छ ।

यस्तै, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए ।

Advertisement

मन्त्रालयले मकवानपुरमा ७ हजार पाँच सय, ललितपुरका लागि ८ हजार ३ सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार ९ सय, चितवनका लागि ८ हजार, दोलखाका लागि ५ हजार, काभ्रेका लागि ८ हजार, सिन्धुलीका लागि ८ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य लिएको थियो ।

निर्देशक श्रेष्ठले वर्षातको कारण र कतिपय स्थानीय तहको भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको बताए । `वर्षातको दिनमा ७-८ हजार पशुमा मात्रै खोप लाग्यो मौसम खुलेको दिन १३-१४ हजार पशुमा खोप लगाउन सफल भएका थियौं । स्थानीय तहको समन्वयमा खोप लगाउने कार्यक्रम जारी नै हुनेछ । लक्ष्य भन्दा बढी नै पुग्छ,´ श्रेष्ठले भने ।

गत आर्थिक वर्ष २०८०/८१ मा लम्पी स्किन रोगको संक्रमबाट बागमती प्रदेशमा ११ हजारभन्दा बढी गाईभैंसीको मृत्यु भएपछि यसवर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरेको मन्त्रालयका सचिव विनोद भट्टराईले जानकारी दिए ।

प्रदेशमा रहेका १० लाख ११ हजार एकसय ३६ गाई र आठ लाख ३२ हजार एकसय ९३ भैंसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक कार्यक्रमअन्तर्गत् नै खोप अभियान चलाइएको मन्त्रालयका भट्टराईले बताए ।

बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार एक सय ४२ मेट्रिक टन दूध उत्पादन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

बागमतीको चितवन, काभ्रे, सिन्धुली, धादिङ र मकवानपुर सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला हुन् । प्रदेशका अधिकांश किसान गाईभैंसी पालनबाट आत्मनिर्भर छन् ।

चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिक रुपमा गाईभैंसी फार्म सञ्चालन गर्ने किसान बढ्दो क्रममा रहेका छन् ।

विगतका वर्षमा लम्पी स्किनका कारण धेरै गाईभैंसीको मृत्यु भएकाले किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको थियो । लम्पी स्किन संक्रमणपछि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले मन्त्रालय यसको नियन्त्रणमा गम्भीर रुपले अघि बढेको सचिव भट्टराई बताउँछन् ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा लम्पी स्किन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजार दुई सय १८ वटा गाईभैंसीको मृत्यु भएको तथ्याङ्क छ ।

३७ हजार ८९ वटा गाईभैंसी संक्रमित भएको र दुईलाख ५६ हजार सात सय ५९ पशु प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

बागमतीमा हालसम्म दुई लाख ४५ हजार दुई सय २२ र गत वर्ष ५७ हजार चार सय ३३ वटा गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।

संक्रमणका कारण काभ्रेमा दुई हजार चार सय १२, सिन्धुपाल्चोकमा एक हजार तीन सय २८, दोलखामा एक हजार १०, सिन्धुलीमा ९ सय ४९, मकवानपुरमा पाँच सय एक, रामेछापमा ९ सय ७५, चितवनमा ४ सय दुई, धादिङमा ९ सय ५९, नुवाकोटमा १ हजार ३४, रसुवामा २ सय ३६, काठमाडौंमा ६ सय पाँच, ललितपुरमा दुई सय ४९ र भक्तपुरमा लम्पीबाट पाँच सय ८८ वटा गाईभैंसी मरेको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया