नुवाकोटमा एक वर्षमा ६५ जनाले आत्महत्या गरे
नुवाकोट । नुवाकोटमा एक वर्षमा ६५ जनाले आत्महत्या गरेका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा नुवाकोटमा ७७ जना र आव ०७९/०८० मा ६१ जनाले आत्महत्या गरेका छन् ।
यस्तै आव ०८०/०८१ मा ६५ जनाले आत्महत्या गरेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा महिनामै ११/१२ जनाले समेत आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको घटना नुवाकोट भन्दा धादिङ अगाडी रहेको छ ।
आत्महत्याको घटना नुवाकोट, रसुवा र धादिङमा मात्र बढेको होइन, सिंगो वाग्मती प्रदेशमा बढेको देखिन्छ । धादिङमा आव ०७८/०७९ मा ९६ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आव ०७९/८० मा १ सय ४२ जनाले आत्महत्या गरेका थिए भने गत आवमा १ सय ९ जनाले आत्महत्या गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा कम आत्महत्या गर्नेमा रसुवा जिल्ला रहेको छ । रसुवामा आव ०७८÷०७९ मा ५ जनाले, ०७९÷०८० मा ४ जनाले आत्महत्या गरेका थिए भने ०८०÷०८१ मा ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक रवि पौडेलले बताए ।
उनका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा आव ०८०÷०८१ मा ९ सय ७७ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष ९ सय ४० जनाले आत्महत्या गरेका थिए । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् । दुवै वर्ष वैशाखदेखि असार÷साउनमा आत्महत्याका घटना बढी भएका छन् ।
‘उमेर हेर्दा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका धेरै व्यक्तिले आत्महत्या गरेका छन्,’ मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले भने, ‘पारिवारिक विछोड र मानसिक तनाबका कारणले आत्महत्याको बाटो रोज्ने धेरै छन् ।’ छोरा विदेशमा र बुहारी सहरमा डेरा लिएर बस्ने प्रवृत्तिले गर्दा पनि वृद्धवृद्धाहरूले एक्लै बस्नु परेको पीडा सहन नसकेर आत्महत्याको बाटो रोज्ने गरेका पनि छन् ।
विदेशमा जोखिम मोलेर आम्दानी गरेको रकम लिएर पत्नीले दोस्रो विवाह गरेर गएको पीडाले पनि वैदेशिक रोजगारीबाट फर्केका केही युवाले आत्महत्या गरेका छन् । ‘विविध कारणले प्रेम सम्बन्ध सफल नभएको पीडाले पनि युवकयुवतीले आत्महत्याको बाटो रोजेका देखिन्छन्,’ प्रहरी उपरिक्षक रिजालले भने, ‘घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने महिलाको संख्या पनि उत्तिकै छ ।’
आत्महत्या कुनै समुदाय र भूगोलमा केन्द्रित छैन । जिल्लाका सबै क्षेत्र र समुदायका व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । ११ वर्षीया बालिकादेखि ७७ वर्षसम्मका वृद्धले आत्महत्या गरेका छन् । सबै आत्महत्याका घटना प्रहरीसम्म आइपुग्दैनन् । प्रहरीलाई जानकारी दिएपछि पोस्टमार्टम गर्न शव सदरमुकाम ल्याउनु पर्ने भएकाले दुर्गम गाउँमा भएका आत्महत्याका घटना प्रहरीलाई जानकारी नदिईकनै परम्परा अनुसार दाहसंस्कार गर्ने गरिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
सहनशीलता एवं धैर्यको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारी स्तरबाट कुनै प्रयास नहुनुजस्ता कारणले आत्महत्याका घटना बर्सेनि बढ्दो क्रममा रहेको चिकित्सकहरूको तर्क छ । आत्महत्या रोक्ने कुनै सरकारी गृहकार्य एवं चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा पनि यस्ता घटनामा वृद्धि भएको उनीहरूको दाबी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया