तारकेश्वरका ८६ जना कृषकलाई हाते ट्याक्टर वितरण

विदुर खबर २०८१ असार २४ गते २२:२६

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

Advertisement

आईतवार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले कृषिखेती गर्दै आएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेका हुन् ।

कृषकको मागका आधारमा छिटोछरितो र सहज रूपमा काम गर्ने हाते ट्याक्टर खरिद गरेर कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष अधिकारीले बताए । उनले कृषि खेती गर्ने परम्परागत प्रणालीलाई सुधार गर्दै आधुनिकीकरणतर्फ लैजाँदै कृषकको उत्पादन वृद्धि गराउन हाते ट्याक्टर वितरण गरेको बताए ।

गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ।

Advertisement

कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले उल्लेख गरे । किसानलाई कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको हो, अधिकारीले विदुर खबरसँग भने ।

गाउँपालिकाले यस कार्यक्रमको लागि चालु आ.व. २०८०÷८१ को कृषि विकास शाखा तर्फ स्वीकृत बजेट कार्यक्रम “कृषि यान्त्रिकीकरणका निम्ति ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण कार्यक्रम“ अन्र्तगत रहेर कृषक छनोट गरेको थियो ।

Advertisement

कार्यक्रममा छनौट भएका कृषकहरुले माग अनुसार पेट्रोल ईन्जिन भएको हाते ट्र्याक्टरका लागि १५ हजार रुपैयाँ र डिजल ईन्जिन भएको हाते ट्र्याक्टरका लागि २३ हजार रुपैयाँ मात्र बुझाएका थिए ।

गाउँपालिकाले पालिकाभित्र रहेको कृषि योग्य जमिनलाई मध्येनजर गर्दै हाते ट्याक्टर वितरण गरेको भन्दै किसानहरु समेत दंग देखिएका छन् । उनीहरुले स्थानिय सरकारले जनताको आवश्यकता र मागलाई बुझेको भन्दै आगामी दिनमा समेत किसान र कृषहरु लक्षित कार्यक्रमले निरन्तता पाउनुपर्ने बताए ।

आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया