नुवाकोटका १२ हजार बालबालिकालाई आईभीपी खोप लगाइँदै

विदुर खबर २०८१ जेठ ११ गते ६:५४

Advertisement

नुवाकोट । शिशु तथा बालमृत्युदर घटाउने उद्देश्यले यसपटक नुवाकोटमा झण्डै १२ हजार जना बालबालकिाहरुलाई आई.पि.भी. (पोलीयो विरुद्धको) खोप लगाइने भएको छ ।

यही जेठ १३ गते आईतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

Advertisement

जनस्वास्थ्य कार्यालय नुवाकोटद्धारा बुधबार विदुरमा आयोजित ‘आइपिभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखीकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन् । गोष्ठीमा आइपिभी खोप अभियान २०८१ नुवाकोटमा यहि जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन हुने बताइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरे । उनले सबै सरोकारवाला निकायहरुको सहयोगमा खोप अभियान सफल बनाउन सकिने बताए ।

Advertisement

कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले नेपालमा आइपिभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म खोपको चरम अभाव भएकोले त्यो अभावलाई पूर्ति गर्न ‘आइपिभी खोप अभियान २०८१ कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताए ।

सो अवधिमा आइपिभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको अधिकारीले बताए । ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रतिशत लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख अधिकारीले बताए ।

नुवाकोटमा १२ हजार २ सय ८० जनालाई खोप लगाईने छ । जसमध्ये १२ हजार ९१ जना विद्यालयमै अध्ययरत रहेका छन् भने एकसय ८९ जना विद्यालय वाहिर रहेको जन स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत मर्हजनले बताए । मर्हजनका अनुसार २०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना अनुसार नुवाकोटमा झण्डै १३ हजार डोज खोप आइसकेको छ ।

देशैभरि एक साथ सुरू हुने यस अभियानलाई नुवाकोटमा पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन समेत उनले आग्रह गरे ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रवत्ता रविन्द्र नेपाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लागयत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया