सुनको मूल्यमा नयाँ रेकर्ड

विदुर खबर २०८० फागुन २२ गते १२:११

नुवाकोट ।  मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो । फागुन ३ गतेबाट भने मूल्य उकालो लागेको हो ।

Advertisement

सुनको मूल्य उतारचढाव हुनुमा नेपालको कुनै पनि भूमिका रहन्न । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार एकै दिन १. ४४ प्रतिशतले बढेर प्रतिऔंस २११३ अमेरिकी डलर कायम भयो । जसले गर्दा नेपाली बजारमा मंगलबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ सुनको मूल्य बढ्यो ।

Advertisement

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । केही मुख्य विषय: अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन्।

यतिबेला यिनै अधिकांश विषयका कारण सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले यी सबै अवस्थाले प्रभाव पारेको छ, जसले गर्दा मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढ्ने अनुमान गर्न थालिएको छ ।

‘अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक)ले सन्दर्भ ब्याजदर घटाउने खुलासा गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य धेरै बढ्यो र नेपाली बजारमा प्रभाव पर्‍यो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने । हाल फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५.२५ देखि अधिकतम ५.५० सम्मको सीमा तोकेको छ । जुन दर २३ वर्षयताकै उच्च हो । उपभोक्ता मूल्यवृद्धि २ प्रतिशतमा झार्ने रणनीतिअनुसार बैंकले बढाएको ब्याजले अर्थपूर्ण रुपमा काम गरिरहेको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशतनजिक झरेकाले बैंकले ब्याजदर घटाउने जनाइसकेको छ ।

उनका अनुसार जब अमेरिकी केन्द्रीय बैंकले ब्याज घटाउँदै जान्छ, त्यसले सुनतिर लगानी मोडिन जान्छ र माग बढ्न जान्छ । त्यस्तै अन्तर्राष्ट्रिय व्यावसायिक विस्तारको क्रम साँघुरिएको र लगानी सुरक्षाका लागि सुन छनोटमा परेको उनले बताए ।

‘विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,’ उनले भने । अन्तर्राष्ट्रिय द्वन्द्व एकातिर कायम रहनुले पनि सुन बजारलाई असर पार्ने शाक्य बताउँछन्

प्रतिक्रिया