नुवाकोटको दुप्चेश्वर मेला पुस ७ गतेदेखि लाग्ने

विदुर खबर २०८० मंसिर २२ गते १९:१९

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा आउँदो पुस ७ गतेदेखि मेला लाग्ने भएको छ ।

Advertisement

धान्य पूर्णिमाको बेला लाग्ने ४ दिने मेला पुस ७ गते एकादशीबाट सुरु भई १० गते पूर्णिमाका दिन सम्पन्न हुने दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष वीरबल तामाङले  जानकारी दिए । उनका अनुसार गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय ‘दुप्चेश्वर क्षेत्र विकास कोष’बनाई मेला व्यवस्थापनको काम जारी छ ।

वडाध्यक्ष तामाङले मन्दिर क्षेत्र पुग्ने सडक मर्मत, सडक बत्ति जडान, पाहुनालाई बस्ने ठाउँ, पार्किङ स्थल बनाउने, मन्दिर परिसर सजावटलगायत विभिन्न तयारी भइरहेको बताए ।

Advertisement

मेलामा दुप्चेश्वरमा उत्पादन गरिने हस्तकला सामग्री, भिर माहुरीको मह, चौरीको घिउ, छुर्पी, फाफर पिठोलगायतको स्टलहरु राखिनेछ ।

मेला व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा ५ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम मन्दिर परिसर सजावट, टाढा(टाढाबाट आउने पाउना सत्कारलगायतमा खर्च गरिनेछ । बढीभन्दा बढी श्रद्धालु भक्तजन भित्र्याउन प्रचारप्रसारका काम व्यापक रुपमा भइरहेको उनको दाबी छ ।

Advertisement

मेलाका अवसरमा विभिन्न किसिमका झाँकी प्रस्तुत गरिने छ । दुप्चेश्वर मन्दिर दर्शन गरे सन्तान प्राप्ति हुने, बोली नफुट्ने बालबालिकाको बोली फुट्ने जनविश्वास छ । किवंदन्तीअनुसार स्थानीय बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको थियो। त्यही स्थानमा स्थानीयले दुप्चेश्वर महादेव स्थापना गरे । र, मन्दिरमा दुई सय वर्षयता पूजाआजा गर्दै आएको जानकार बताउँछन् ।

किवंदन्ती अनुसार समुद्र मन्थन गर्दा निस्किएको विष सेवनपछि छटपटाएका भगवान शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएका थिए । त्यसैले दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथका रूपमा पुजिने गरेका छन् ।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामालगायतलाई थप व्यवस्था मिलाइने जनाइएको छ । मेलामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायतका तीर्थालु पुग्ने गर्दछन् ।

दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायतका हस्तकलाका सामग्री, पशुचौपायलाई धुवाउन धुपीको लौरोको कारोबार हुने गरेको छ ।

 

प्रतिक्रिया