रसुवागढीबाट तीन महिनामा १३ सय ७७ वटा गाडी आयात

विदुर खबर २०८० कार्तिक २१ गते २१:१३

नुवाकोट । यो आर्थिक वर्षको तीन महिनामा रसुवागढी नाका हुँदै नेपालमा १ हजार ३७७ वटा गाडी भित्रिएको छ।

Advertisement

रसुवा भन्सार कार्यालय स्रोतका अनुसार रसुवागढी नाकाबाट भित्रिएका गाडीमध्ये सबैभन्दा धेरै बीवाइडी हुन्। बीवाइडीको संख्या ६२० छ। यो भनेको ४५ प्रतिशत हो।

यो वर्ष तीन महिनामा रसुवागढी नाका हुँदै ३ अर्ब ९० करोड १२ लाख १४ हजार रुपैयाँका गाडी भित्र्याइएका हुन्। ती गाडीको आयातमा सरकारले १ अर्ब ५८ करोड ७५ लाख ३१ हजार रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

Advertisement

बीवाइडीका १०० किलोवाट क्षमताको मोटर र ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको एटो ३ आयात गरिएका हुन्। ६२० वटा गाडीको आयातमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले १ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ। बीवाइडीका ती गाडीको आयातमा सरकारले ७८ करोड २२ लाख १२ हजार रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

बीवाइडीपछि ठूलो संख्यामा मोरिस ग्यारेज(एमजी) को जेडएस इभी र एमजी फोर गाडी ४५४ वटा आयात गरिएका छन्। ती गाडी १ अर्ब २९ करोड २२ लाख ३१ हजार रुपैयाँमा किनेर ल्याइएका हुन्। यसबापत यसको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले सरकारलाई ३७ करोड २३ लाख ६९ हजार रुपैयाँ भन्सार शुल्क तिरेको छ।

Advertisement

यस्तै नेटा भी ५८ वटा भित्र्याइएका छन्। स्रोतका अनुसार ती गाडी १२ करोड २० लाख रुपैयाँमा किनिएका हुन्। ती गाडीको आयातमा सरकारले ५ करोड ५० लाख रुपैयाँ भन्सार शुल्क उठाएको छ।

यस्तै ग्रेटवाल, म्याक्सस, फुटोन, एक्स ३० प्यासेन्जर भ्यान, गोल्डेन ड्रागन बस, किङलङ, सेरेस लगायत थप २४५ वटा गाडी रसुवागढी हुँदै ल्याइएका छन्।

रसुवागढी नाकाबाट असोजमा सबैभन्दा बढी गाडी भित्र्याइएको हो। यो महिनामा मात्र ५४५ वटा गाडी ल्याइएका छन्। अर्थात तीन महिनामा भित्र्याइएकामध्ये ३९.५७ प्रतिशत गाडी असोजमा ल्याइएका हुन्। ती गाडी १ अर्ब ५३ करोड रुपैयाँ बराबरका हुन्। ५४५ गाडीमध्ये ४ वटा मात्र इन्धन गाडी भएको कार्यालय स्रोतले जनाएको छ।

ती गाडीको आयातमा सरकारले ६२ करोड ११ लाख रुपैयाँ भन्सार शुल्क उठाएको छ। असोजमा बीवाइडीको एटो ३ सबैभन्दा धेरै ल्याइएको छ। साइमेक्स इंकले असोजमा २७० वटा गाडी आयात गरेको हो। ती गाडीको आयातमा ७९ करोड २२ लाख रुपैयाँ खर्च गरेको साइमेक्स इंकले सरकारलाई ३३ करोड २८ लाख ६९ हजार रुपैयाँ भन्सार शुल्क तिरेको छ।

यसैगरी असोजमा एमजीका १४४ वटा गाडी आयात गरिएको छ। पारामाउन्ट मोटर्सले ती गाडी ४१ करोड ७३ लाख ७ हजार रुपैयाँमा भित्र्याएको हो। यसबाहेक उसले सरकारलाई १७ करोड २५ लाख ६७ हजार रुपैयाँ भन्सार शुल्क बुझाएको छ।

प्रतिक्रिया