रसुवा सुक्खा बन्दरगाहको निर्माण ५० प्रतिशत सम्पन्न
नुवाकोट । नेपाल इन्टरमोडल यातायात विकास समितिले रसुवा नाकामा निर्माण गरिरहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को निर्माण करिब ५० प्रतिशत सकिएको छ ।
उत्तरी छिमेकी मुलुक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको उक्त बन्दरगाहको निर्माण कार्य कोभिडको समयमा केही महिना अवरुद्ध भएको थियो । निर्धारित समयमा नसक्ने अवस्था आएपछि म्याद थपेर आगामी सन् २०२५ को जुन ६ तारिखमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको समितिले जनाएको छ । यो बन्दरगाहको निर्माण कार्यको तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
टिमुरेस्थित भोटेकोशी नदीको किनारमा २ हजार ८० वर्गमिटरको क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको छ । निर्माणस्थल चीनको सीमाबाट ३ किलोमिटर नेपाली भुभागमा पर्छ । बन्दरगाह निर्माण गर्नका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट निणर्य गरी राष्ट्रिय निकुञ्जको करिब ४ हेक्टर जग्गा निःशुल्क र बाँकी करिब ४ हेक्टर नीजि जग्गाधनीबाट खरिद गरिएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सन् २०१९ नोभेम्बरदेखि सुरु भएको यसको निर्माण ३० महिनामा सक्नुपर्ने थियो। तर, कोभिडका कारण निर्धारित समयमा नसकिंदा पछिल्लो समयमा म्याद थप गरि २०२५ को जुनमा सक्ने लक्ष्य निर्धारण गरिएको हो । उनका अनुसार चीन सरकारकै २ अर्ब १६ करोड ६० लाख रुपैयाँमा निर्माण भइरहेको छ ।
नदी किनारमा बन्दरगाह निर्माण भइरहेकाले नदीको जोखिमबाट जोगाउन साढे ६ सय मिटर लामो र ५ मिटर अग्लो रिटेनिङ वाल निर्माणको काम सकिएको छ । यसबाहेक सबारी साधन ओहोरदोहोर गर्नका लागि पासाङ ल्हामु राजमार्गसँग बन्दरगाहलाई जोडिने गरी ७ मिटर चौडाइ भएको पहुँचमार्ग (एप्रोच सडक) पनि निर्माण भइसकेको छ । ‘अब यो सडकमा कालोपत्रे गर्न मात्रै बाँकी छ,’ गजुरेलले भने,‘यो बन्दरगाह निर्माणपश्चात् रसुवा नाकाबाट नेपाल-चीनबीचको द्विपक्षीय व्यापार अझै व्यवस्थित हुने अपेक्षा छ ।’
चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनममार्फत आउने मालसामानको ढुवानी लागत खर्च र समय अत्यधिक छ । चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनमबाट नेपालमा सामान ल्याउन अहिले ४५ दिनभन्दा बढी समय लाग्छ । रसुवा नाकाबाट सोझै आउँदा करिब दुई सातामा काठमाडौंमा मालसामान आइपुग्छ । यो बन्दरगाह निर्माणपश्चात् ढुवानी खर्च पनि कम हुने समय पनि कम लाग्ने हुँदा नेपालीले केही सस्तो मूल्यमा सामान खरिद गर्न सक्षम हुने गजुरेलको भनाइ छ ।
समितिका सिभिल इन्जिनियर शोभाकान्त राउतका अनुसार बन्दरगाह क्षेत्रमा माटो भर्ने (फिलिङ) काम पनि सकिनुका साथै अहिले वेयर हाउस र जाँच चौकीको भवन निर्माण गर्न फाउन्डेसनको काम भइरहेको छ । बन्दरगाहको तयार भएको खाकाअनुसार ५ सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन निर्माण हुनेछ । यस्तै ७५० वर्गमिटरमा गोदाम निर्माण गर्न लागिएको छ ।
यसबाहेक ३५० वटा कन्टेनर अटाउने क्षमताको पार्किङ निर्माण गर्न लागिएको छ । यो पाकिङ २३ ठूला र ३१३ साना कन्टेनर अटाउन सक्ने गरी निर्माण कार्य भइरहेको छ । बन्दरगाहमा जाँचपासका लागि दुईवटा विन्दु तोकिएको छ । बन्दरगाहमा भन्सार, अध्यागमन, क्वारेन्टाइन र बैंकको सुविधा हुने समितिले जनाएको छ ।
नेपाल-चीनबीच रसुवा, तातोपानी र हिल्सा नाकामार्फत झिनो रुपमा द्विपक्षीय व्यापार हुँदै आएको छ । चीनसँग व्यापारिक कारोबारका लागि तातोपानी सबैभन्दा उत्तम नाका भएपनि चीन सरकारले विभिन्न बहानामा उक्त नाका सहज रुपमा खुला नगरेका कारण द्विपक्षीय व्यापार अवरुद्ध हुँदै आएको छ । यसको विकल्पमा रसुवा नाकालाई अघि बढाइए पनि यो नाका पनि नेपाली आयातकर्ता र निर्यातकर्ता व्यापारीका लागि सहज बनिसकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया