बागवानी विकास केन्द्र नुवाकोटले ९ लाख रुपैयाँको लिचि बेच्यो

विदुर खबर २०८० साउन १५ गते ७:०३

नुवाकोट । उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र त्रिशुली नुवाकोटले गत आर्थिक वर्ष २०७९÷८० मा ९ लाख रुपैयाँको लिचि बिक्री गरेको छ ।

Advertisement

केन्द्रमा रहेको २ सय ५२ वटा रुखमा फलेको लिची ठेक्का मार्फत ९ लाख रुपैयाँमा विक्री गरिएको वरिष्ठ बागवानी विकास अधिकृत रविन्द्र काजी थापाले जानकारी दिए । उनका अनुसार एउटा रुखले १० देखि १ सय २० केजी सम्म लिची उत्पादन दिएको थियो । अघिल्लो वर्ष २०७८÷७९ मा ४ लाख ६० हजार रुपैयाँको लिची बिक्री भएको थियो ।

यस्तै केन्द्रले अघिल्लो वर्ष २०७८÷०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷८० मा ३२ प्रतिसत बढी फलफूलको विरुवा विक्री गरेको छ । अघिल्लो वर्ष ४६ हजार ३ सय ५५ वटा फलफूलको विरुवा विक्रि गरेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र त्रिशुली नुवाकोटले गत अर्थिक वर्षमा ६१ हजार २ सय ८६ वटा विरुवा विक्री भएको वरिष्ठ बागवानी विकास अधिकृत थापाले जानकारी दिए ।

Advertisement

थापाका अनुसार गत आर्थिक वर्षमा ६५ हजार विरुवा विक्री गर्ने लक्ष्य रहेको थियो । फलफूलको विरुवा रोप्ने समय बाँकी नै रहेकोले कृषकहरुले हाल पनि केन्द्रबाट विरुवा खरिद गरिरहेका छन् । केन्द्रले कागती, लिची, मेवा, आँप, मेकाडेमिया नट, अनार लगायत ६३ प्रकारका फलफूलका विरुवा उत्पादन गरेको थियो ।

यस्तै उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र त्रिशुली नुवाकोटको राजस्व संकलनमा समेत बृद्धि भएको छ । गत आर्थिक वर्षमा केन्द्रले ४२ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

Advertisement

अघिल्लो वर्ष २०७८÷०७९ मा २८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको वरिष्ठ बागवानी विकास अधिकृत रविन्द्र काजी थापाले जानकारी दिए ।

 

प्रतिक्रिया