‘बन्चरेडाँडामा फोहोरले मानवअधिकार गम्भीर हनन’
नुवाकोट । राजधानी सहरको फोहोर बिनाकुनै योजना विसर्जन गर्दा बन्चरेडाँडा र आसपासका मानिसको सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर हनन भएको भन्दै मानवअधिकारवादीले वैकल्पिक व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।
मानवअधिकारवादीको ‘जवाफदेही निगरानी समूह’ ले स्थलगत अवलोकनका क्रममा फोहोरका कारण स्थानीयको जनजीवन निकै कष्टकर बन्दै गएको देखिएको जनाएको छ ।
नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडालाई काठमाडौं उपत्यकासँगै आसपासका २१ पालिकाको फोहोर विसर्जन गरिन्छ । ल्यान्डफिल व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले गरिरहेको छ । ल्यान्डफिलको योजनाअनुसार विसर्जन नगर्दा फोहोरले बन्चरेडाँडा आसपासका गाउँबस्ती दुर्गन्धित भएका छन् । निगरानी समूहका सदस्य गोपाल शिवाकोटीले जथाभावी फालिएको फोहोरले ७ सय घर परिवारको जीवन अस्तव्यस्त बनाएको बताए ।
‘सिसडोल काठमाडौंको फोहोरले पुरै भरिएपछि अलि परको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको रहेछ,’ प्रत्यक्ष अवलोकन गरेर फर्किएका निगरानी समूहका सदस्य उनले भने, ‘त्यस क्षेत्रको दुई किलोमिटर परिधिका बस्तीहरूमा सहनै नसक्ने दुर्गन्ध फैलिएको छ । बाक्लो झिंगाले मानिसहरूको घर, भान्सा र जीउ नै ढाक्दोरहेछ ।’
शिवाकोटीका अनुसार सिसडोल नपुग्दै फोहोरको लिच्चड चुहिएर बस्ती आसपासको बाटो र खोलामा पसेको छ । ‘त्यो फोहोर यति विषाक्त रहेछ कि खुट्टामा पर्दा गाउँलेको क्यान्सरै भएको रहेछ,’ उनले भने, ‘त्यस क्षेत्रमा कि फोहोर फाल्न तत्काल रोक्नुपर्यो, कि ती मानिसलाई अन्यत्र सार्नुपर्यो ।
ककनी गाउँपालिकामा पर्ने सिसडोल र बन्चरेडाँडा आसपासका बस्तीमा दुर्गन्धले जग्गा किनबेच पनि रोकिएको छ । बस्तीमा बस्नै नसकिने दुर्गन्ध र फोहोर तथा झिंगाको बाक्लो झुन्डले गर्दा त्यहाँको एक युवाको केही अघि तय भइसकेको विवाह अन्तिम समयमा भंग भएको शिवाकोटीले बताए । शिवाकोटी नेतृत्वको समूहले गरेको स्थलगत अवलोकनपछि जवाफदेही निगरानी समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय र संघीय सरकार तथा सरोकारवालालाई ल्यान्डफिल साइट पीडितहरूको संविधान प्रदत्त हक हनन नगर्न आग्रह गरेको छ ।
‘अत्यन्त अव्यवस्थित एवं खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिंगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बन्चरेडाँडावासीको जीवनयापन, यातायात तथा हिँडडुल कष्टकर परिस्थिति उत्पन्न भएको छ,’ समूहले विज्ञप्तिमा भनेको छ, ‘यस्तो परिस्थिति फोहोर व्यवस्थापनसँग मात्र सम्बन्धित नभई स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको उल्लंघनसँग गाँसिएको छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया