नुवाकोटको तारकेश्वरकी सन्तोषीले घरमै पाइन् नागरिकता

विदुर खबर २०८० असार १४ गते १२:२४

नुवाकोट ।अपांगता भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मजुवाकी २१ वर्षीया सन्तोषी रिमालले घरमै नागरिकता पाएकी छन् ।

Advertisement

उनलाई प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रशासकीय अधिकृत सुरेश खतिवडा, कर्मचारी रामचन्द्र पण्डितसहितको टोलीले डड्डामा सही छाप गराई नागरिकता दिएको हो ।

उनी नागरिकताविहीन हुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित थिइन् । अपांगताका कारण उनी ओछ्यानमै सुतिरहन्छिन् । रिमाल बोल्न र यताउता केही गर्न सक्दिनन् । दिसापिसाब सबै आमाले गराइदिने बुबा तोयबहादुरले बताए । उनी ६ सन्तानमध्ये कान्छी हुन् ।

Advertisement

अरू छोरी र छोराको विवाह भइसकेको छ । ‘छोराछोरीका नातिनातिना भइसकेका छन्,’ तोयबहादुरले भने, ‘यो केही गर्न सक्दिन । भोकलाग्यो भनेर थाहा पाएर खाना दिनुपर्छ । दिसापिसाब आएको पनि थाहा हुँदैन ।’

सन्तोषीको जन्म २०५८ पुस १२ मा भएको थियो । उनको नागरिकता प्राप्त नम्बर २५–०१–८०–०२५८३ हो । नागरिकता नभई अपांगता भत्ता नपाइने भएपछि तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष नारायणप्रसाद रिमाललाई दिलाइदिने भनेको तोयबहादुरले बताए ।

Advertisement

‘सीडीओले घरदैलोमै आएर नागरिकता दिएपछि सन्तोषीले नागरिकता पाउँदा खुसी लागेको छ,’ वडाध्यक्षले भने, ‘नागरिकता अभावमा अपांगता भएका व्यक्तिले राज्यबाट पाउने सुविधाबाट अब वञ्चित हुन परेन ।’

वडाध्यक्ष रिमालका अनुसार वडाभरिमा ३७ जना अपांगता भएका व्यक्ति छन् । यो वडामा रातो कार्ड लिने अपांगता व्यक्तिको संख्या २५ छ । बाँकी १२ जनाले अन्य कार्ड लिन बाँकी छ ।

कार्यालयसम्म आउन नसकेपछि राज्यबाट पाउने सेवासुविधाबाट कोही वञ्चित नहोऊन् भनेर अपांगता भएकालाई घरदैलोमै गएर सेवा दिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रतिक्रिया