साफ च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दै

विदुर खबर २०८० असार ६ गते १०:०५

नुवाकोट । साफ च्याम्पियनसिपको १४ औँ संस्करण आज (मंगलबार) देखि भारतको बेंग्लोरमा हुँदै छ ।

Advertisement

पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने चार बजेपछि सुरु हुनेछ ।

कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् । साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो ।

Advertisement

प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले नेपालले छोटो समय तयारी गरेको भए पनि राम्रो प्रदर्शनको अपेक्षा राखे । बेंग्लोरमा मंगलबार भएको प्रि-म्याच कन्फ्रेन्समा एनेसले टिममा धेरै नयाँ खेलाडी रहेको र उनीहरूबाट उत्कृष्ट प्रदर्शन चाहेको बताए । साविकको उपविजेता नेपालले साफ अघि तयारीका लागि लामो समय पाएन ।

फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेलेमा नेपाल १ – ० ले पराजित भएको थियो । त्यसअघि सहिद स्मारक ए-डिभिजन लिग जारी रहँदा क्लबहरुले खेलाडी रिलिज गर्न नमान्दा अभ्यास हुन सकेको थिएन ।

Advertisement

कुवेत फिफा वरीयताको १ सय ४३ औँ स्थानमा छ । १ सय ७४ औँ स्थानको नेपालले कुवेतलाई कडा टक्कर दिन सक्ने अनुमान छ ।

साफ च्याम्पियनसिपका सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।

 

प्रतिक्रिया