नुवाकोटको ढिकी, जाँतो, चुलीको पर्यटकीय सम्भावना
नुवाकोट । नेपालका धेरै जिल्लामा स्थानीय सरकार पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार, पूर्वाधार निर्माणका कार्यमा जुटिरहेको छ ।
आफ्नो पालिकाभित्र रहेको पर्यटनसँग सम्बन्धित ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक स्थलको खोजीनिती र प्रचार–प्रसारमा लाखौँ बजेट आइराइरहेका छन् । नुवाकोटमा पनि ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक रूपमा असङ्ख्य सम्भावना बोकेको क्षेत्र रहेको भए पनि त्यसको खोजीनिती, प्रचार–प्रसार, संरक्षण र त्यहाँसम्म पुग्ने बाटो, सडक र अन्य पूर्वाधारका लागि स्थानीय तहले खासै महत्व दिएको देखिँदैन ।
नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट १५ किलोमिटरको दूरीमा रहेको ढिकी, जाँतो र चुलीको बारेमा स्थानीय पालिकाले चासो नदिँदा पर्यटकीय सम्भावनाको क्षेत्र हुँदाहुँदै पनि ओझेलमा परेको छ । विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको सिमानामा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय सम्भावना रहेको स्थान हुँदाहुँदै पनि स्थानीय निकायको प्राथमिकतामा पर्न नसक्दा ओझेलमा परेको छ ।
विदुर नगरपालिकाको वडा नं. ८, १२, १३ र तारकेश्वर गाउँपालिकाको वडा नं. ६ को शिरमा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको क्षेत्र हो । यस क्षेत्रमा पुग्ने सडकमार्ग, पैदलमार्गका लागि सिँढी र न्यूनतम पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीयले गाउँपालिका र नगरपालिकालाई घचघच्याइरहेका छन् ।
विदुर नगरपालिकाको बट्टार हावाघरबाट चारघरे–भट्टगाउँ हुँदै जामुनेबाट ढिकी, जाँतो, चुली र बट्टार हावाघरबाट मूलाबारी–भदुवार–फिर्केप हुँदै ढिकी, जाँतो र चुली पुग्न सकिन्छ । त्यसैगरी, विदुरबाट गौरीबेंसी–चारघरे–भट्टगाउँ–जामुने हुँदै र त्रिशूलीबजारबाट कोलनी–बगुवामाझीगाउँ–कठेरी–जामुने हुँदै चुली पुग्न सकिन्छ । यी चार स्थानबाट सडकमार्ग हुँदै भट्टगाउँसम्म गाडी, मोटरसाइकल, बस, ट्रकमा सहजै पुग्न सकिन्छ ।
भट्टगाउँबाट चुली पुग्न पाँच किलोमिटर उकालो लागेपछि पुग्न सक्ने स्थानीय सामाजिक अभियन्ता रामप्रसाद भट्टले जानकारी दिए । विदुरबाट चुली पुग्ने दूरी १५ किलोमिटर रहेकोसमेत उनले बताए । चैनपुरबाट पन्थगाउँ–भदुवार–फिर्केप हुँदै चुली पुग्न पनि सकिन्छ । झन्डै दुई हजार मिटरको उचाइमा रहेको ढिकी, जाँतो र चुलीको प्रचार–प्रसार र संरक्षणमा एक दशक अघिदेखि स्थानीय व्यवसायी एवम् सामाजिक अभियन्ता बद्रीप्रसाद भट्ट सक्रिय रहेका छन् ।
विदुरबाट सवारीसाधन लिएर आउँदा एक घन्टामा भट्टगाउँ र डेढ घन्टामा चुली पुग्न सकिन्छ । विदुर नगरपालिकाभित्र रहेको उच्च स्थानमध्ये यो चुलीबाट धादिङ, गोरखा, भक्तपुरको नगरकोट, रसुवा, काठमाडौंको रानीवनको डाँडा, चन्द्रागिरी, मकवानपुरको दामन, सिमभञ्ज्याङ, चितवन, तनहुँको बन्दीपुरलगायत १८ वटाभन्दा बढी जिल्ला मौसम सफा भएको समयमा देखिने भएकाले युवा–युवतीको रोजाइमा पर्ने गरेको छ ।
आजभोलि चुली हेर्न जानेहरूको सङ्ख्या बढिरहेको छ । ड्राई पिकनिक अर्थात् घरबाटै खानेकुरा लिएर जानेहरू दैनिक एक–दुई ग्रुप हुने गरेको छ । मौसमानुसार चुलीको वरपर गुराँसको फूल, काफल, ऐंसेलु र टिम्मुरलगायत आयुर्वेदिक औषधिजन्य जडीबुटी प्रशस्त पाइन्छ । यो क्षेत्रको विकास गर्न सके ढिकी, जाँतो, चुली, बट्टार, त्रिशूली, कोलनीलगायतको नयाँ पिकनिक स्थल बन्न सक्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया