नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत

विदुर खबर २०७९ फागुन १३ गते २२:०६

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे ।

‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ’, प्रवक्ता महतले भने, ‘अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।’

Advertisement

आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संवैधानिक व्यवस्थामाथि क्षति पुर्‍याउने काम हुन्छ कि भन्ने आशंका थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा संघमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले संघीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे । उनले नयाँ गठबन्धन संघदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया