रसुवाको सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड र आगजनी

नुवाकोट । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ ।
रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफेाड र आगजनी गरेका हुन् ।
कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।
करिब ७०-८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।
कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्याइएको छ । उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् । कार्यालयका विभिन्न संरचनाहरु भत्काइदिएका छन् ।
२९ माघ, २०७६मा नै रसुवाका स्थानीयलाई दिने सेयरबारे समझदारी भएको थियो । तर, गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए । तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।
‘ धम्की आइरहेको थियो, हामीले प्रहरी र प्रशासनसँग सुरक्षाका लागि सहयोग मागेको धेरै दिन भयो,’ आयोजनाका एक अधिकारीले भने,’चुनाव लागेकाले प्रशासन यस्तो अराजक समूहप्रति नरम देखिएको छ । हामी ज्यादै असुरक्षित भयौं ।’
सान्जेनले २०६८ को मंसिरमा र माथिल्लो सान्जेनले २०६९को भदौमा उत्पादन अनुमतिपत्र पाएको थियो । ३५ वर्ष लाइसेन्समध्ये करीब ११ वर्ष निर्माणमै गुजि्रसकेको छ ।
माथिल्लो सान्जेन २०७४ को साउनसम्म र सान्जेन २०७५ को माघसम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गरिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएपछि सान्जेन (माथिल्लो)को आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म र सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/०७९ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो ।
तर, आयोजनाहरु बल्ल निर्माणको अन्तिम चरणमा पुगेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया