नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाले करारका कर्मचारी हटायो

विदुर खबर २०७९ असार ३२ गते ८:२९

नुवाकोट । नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाले करारका कर्मचारी हटाउने भएका छन् ।

Advertisement

नगरपालिकाले खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै शिक्षा, स्वास्थ्य तथा अन्य शाखाहरुमा कार्यरत करारका कर्मचारी १ साउनदेखि लागु हुनेगरी कटौती गरेको हो ।

कटौती गर्ने निर्णय गर्नेहरुमा विदुर र बेलकोटगढी नगरपालिका अग्रस्थानमा छन ।
विदुर नगरपालिकामा एकसय ४० भन्दा बढी कर्मचारी कटौतीमा परेका छन् भने बेलकोटगढी नगरपालिकाले ४० भन्दा बढी कर्मचारी हटाएको छ ।

Advertisement

करार अवधिलाई नवीकरण नगर्ने निर्णय सवैभन्दा पहिला विदुर नगरपालिकाले गरेको छ । विदुर नगरपालिकाले कार्यरत करार कर्मचारीमध्ये हाललाई वडा कार्यालयमा करारमा कार्यरत वडा सचिव, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा तथा पंजीकरणमा कार्यरत करार कर्मचारी, सवारी चालक तथा र दमकलमा कार्यरत कर्मचारी बाहेक अन्य करार कर्मचारीलाई अर्को सुचना नभएसम्म हाजीर नगराउन भनेको छ । यस्तै विदुर नगरपालिकाले स्वयसेवक शिक्षकहरुको पनि हटाइसकेको छ ।

बेलकोटगढी नगरपालिकाले नगरपालिकाको आन्तरिक श्रोतबाट तलबरभत्ता लिईरहेका कृषि,पशु सेवा र स्वास्थ्य सेवा बाहेकका करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरु र डोर हाजिरिमा कार्यरत सम्पूर्ण कर्मचारीहरु हटाउने निर्णय गरेको छ ।

Advertisement

करार अवधि नविकरण नहुने कर्मचारीहरुमा नगरकार्यपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण सवारी चालक, कार्यालय सहयोगीहरु, वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक, सब(इन्जिनियर तथा सम्पूर्ण कार्यालयका सहयोगीहरु र डोर हाजिरिमा कार्यरत सम्पूर्ण कर्मचारीहरु रहेका छन् ।

करारका कर्मचारी हटाइएको विषयमा जानकारी लिन खोज्दा बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक खतिवडा र विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनि सम्पर्कमा आउन चाहेनन् ।

बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाले आफूअनुकुल कतिपय राजनीतिक नियुक्ति समेत भएकाले करारका कर्मचारी हटाउने निर्णय गरेका हुन् ।

नुवाकोटमा दोहोरिएका जनप्रतिनिधि वाहेक सवै स्थानिय सरकारले करारका कर्मचारी हटाउने तयारी गरेका छन् । जिल्लाको तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, म्यागङ गाउँपालिका, सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकामा अघिल्लो स्थानिय सरकार नै दोहोरिएका छन भने अन्य पालिकाहरुमा नया सरकार छन ।

जिल्लाको दुप्चेश्वर र किस्पाङ गाउँपालिकाले पनि करारका कर्मचारी हटाउने तयारी गरेको छ । अघिल्लो सरकारले गरेका सवै प्रकारका नियुक्ति खारेज गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

खारेज गरेका रिक्त नियुक्तीमा राजनैतिक नियुक्ति गर्न सक्ने स्थानियले आकलन गरेका छन ।

प्रतिक्रिया