धादिङ कारागारमा आमासँगै बालबालिका

विदुर खबर २०७८ चैत ६ गते १९:३७

नुवाकोट । धादिङको गजुरी गाउँपालिका ७ किरान्चोककी नविना घले १० महिनादेखि जिल्ला कारागार धादिङमा छिन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकी उनीसँगै श्रीमान् कमल घले र चार वर्षीया छोरीसमेत छन् । 

Advertisement

कानुनत: बालबालिकालाई कैदीसरह जेलमा राख्न पाइँदैन । तर पनि परिवारमा रेखदेख गर्ने व्यक्ति नहुँदा बालबालिका कैदीसरह कारागारमा बस्न बाध्य भएका छन् । विद्यालय जाने उमेर भएका सन्तान आफूसँगै कारागारमा राख्नुपर्दा पिरोल्ने गरेको घलेले बताइन् ।

कर्तव्य ज्यान मुद्दामै ९ महिनाअघिदेखि सोही कारागारमा सजाय भोग्दै आइरहेकी थार्केकी सरिता दर्जीको पनि छोरा साथमै छन् । श्रीमान् मारेको आरोपमा कारागारको सजाय भोग्दै आइरहेकी छिन् दर्जी । ४ वर्षीय छोरा जन्मजात अपांगता हुन् । ती बालकको जन्मजात खुट्टा र जिब्रोमा समस्या छ ।

Advertisement

एकातिर अपांगता अर्कोतिर विद्यालय पढ्ने उमेरका छोरा आफूसँगै बस्नुपर्दा नमज्जा लागेको सुनाइन् । आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचारसमेत गराउन सकेकी छैनन् । उनी भन्छिन्, ‘कुनै बालगृह वा संघसंस्थाले पढाउने, पालनपोषण गरिदिने र उपचार गरिदिने जिम्मा लिए पठाइदिन्थें ।

उत्तरी धादिङको खनियावास गाउँपालिका २ की सुजिता तामाङको पनि १९ महिनाकी छोरी साथमै छिन् । एक वर्षअघिदेखि उनी बहुविवाह मुद्दामा सजाय भोग्दै आइरहेकी छन् । कैद फैसला नभए पनि धरौटी खुलेको थियो । तर १० हजार रुपैयाँ घरौटी तिर्न नसकेर अहिले पनि तामाङ सजाय भोग्दै आइरहेकी छन् ।

Advertisement

जिल्ला कारागार धादिङमा तीन बालबालिका एक वर्षदेखि कैदीसरह जेलमा बस्न बाध्य छन् । अभिभावकसँगै कारागारमा कैद हुनुपर्दा बालबालिका घुमफिर, पठनपाठन, खेलकुद र मनोरञ्जनलगायत सुविधाबाट वञ्चित भएका छन् ।

अभिभावकको गल्तीको सजाय भोग्नेक्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि बालबालिका कारागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागार धादिङका जेलर नइन्द्रकुमार पौडेलले बताए । उनले भने, ‘अपराधजन्य घटना गराएका बालबालिकाहरुलाई पनि कारागारमा थुनामा नराखेर बाल सुधारगृहमा राख्ने कानुनी व्यवस्था छ । संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनीहरु आमाको संरक्षणमा जेलजीवन गुजार्न बाध्य भएका हुन् ।’

कारागारमा कैदीबन्दीको जीवन बिताइरहेका अभिभावकसँग रहेका बालबालिकालाई छोटो समयका लागि जिम्मा लिने कोही नभएकाले समस्या भएको उनले बताए । कारागारमा बालबालिका बिरामी भएको समयमा उपचारमा लैजाने गरेको बताए । ‘आमाले मन्जुरी दिएमा वा कुनै सहयोगी निकायले लिएमा यी बालबालिकालाई सहयोग गर्न सकिन्छ तर आजसम्म यिनीहरुको बारेमा कसैले केही चासो देखाएको छैन’, जेलर पौडेलले भने ।

उनका अनुसार जिल्ला कारागार धादिङमा तीन सय ४२ कैदीबन्दीमध्ये २९ महिला र तीन बालबालिका छन् । महिलाको लागि छुट्टै कारागार भवन छ ।

प्रतिक्रिया