एकमहिने चुनावी अभियानको अन्तिम तयारीमा कांग्रेस
नुवाकोट । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ ।
यही फागुन २९ गतेदेखि कांग्रेसले ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियान सञ्चालन गर्न लागेको छ । यो अभियानलाई कांग्रेसले संगठन सुदृढीकरण अभियानका रूपमा समेत लिएको छ । एकमहिने अभियान सञ्चालनको अन्तिम तयारीका रूपमा कांग्रेस सभापतिसहित शीर्ष नेताहरूले मगलबार पनि छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गत २० गतेदेखि नै यो अभियान सञ्चालन गर्ने भनिए पनि स्थगित भएको थियो ।
एकमहिने अभियानका साथ स्थानीय निर्वाचनको प्रचारबारे मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको थियो । बैठकमा सहभागी एक नेताले जानकारी दिएअनुसार सभापति देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि राम्रो व्यवहार गर्न निर्देशन दिनुभएको थियो ।
‘घरघर जाऊ, कांग्रेस जिताऊ’ भन्ने एकमहिने अभियानकै दौडानमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको बारेमा रहेको भ्रमका बारेमा पनि आम जनतालाई बुझाउने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ । अभियानको दौडानमा सबै जिल्लामा एक÷एक जना केन्द्रीय सदस्य प्रतिनिधिका रूपमा खटाइने पनि कांग्रेसले जनाएको छ ।
स्थानीय निर्वाचन नजिकिए पनि कांग्रेसले उम्मेदवार चयन गर्ने संसदीय समिति भने अझै गठन गरेको छैन । केन्द्रीय संसदीय समितिले काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार निर्णय गर्नुपर्ने हुन्छ भने ११ उपमहानगरपालिकासहित २ सय ७६ नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ । त्यसअनुसार ४ सय ६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ । अध्यक्ष र उपाध्यक्ष गरी जिल्ला संसदीय समितिले ९ सय २० उम्मदेवार चयन गर्नुपर्ने छ । प्रतिनिधि सभा संसदीय समितिले देशभरका वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्नुपर्नेछ ।
कांग्रेसभित्र स्थानीय निर्वाचनको एकमहिना अघि नै सबै उम्मेदवारका लागि टिकट वितरण भइसक्नुपर्ने भन्दै पार्टी नेतृत्वमाथि दबाब बढिरहेको छ । अघिल्लो निर्वाचनमा उम्मेदवारी दर्ताको बिहानसम्म पनि कतिपय स्थानीय तहमा उम्मेदवार टुंगो लागेको थिएन । मतदान गर्नुभन्दा एक महिनाअघि नै उम्मेदवार टुंगो लगाए उम्मेदवार स्वयम्लाई पनि प्रचारप्रसारमा प्रशस्त समय हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया