चिलिमे हाइड्रोपावरः चार आयोजना, थुप्रै सम्भावना

विदुर खबर २०७८ फागुन १५ गते ८:०२

नुवाकोट । एक वर्षको अवधिमा चिलिमे हाइड्रोपावरको सेयर मूल्य ७४ रुपैयाँ घटेको छ। सन्तोषजनक वित्तीय प्रदर्शनीको बाबजुद कम्पनीको मूल्य गत सालको तुलनामा करिब १३ प्रतिशत घटेको हो। जलविद्युत ५२  हप्ताको न्यूनतम मूल्य नजिक कारोबार हुँदै छ।

Advertisement

वर्ष दिनमा सेयर बजार सूचक दोब्बर भई ओर्लँदा चिलिमेको मूल्यमा पनि सोही अनुरूप प्रतिक्रिया देखिएको छ। मूल्य समायोजनले पनि जलविद्युतको सेयर मूल्य घट्न थप सहज भएको देखिन्छ। गत आर्थिक वर्षका लागी जलविद्युतले कुल १५ प्रतिशत लाभांश वितरण गर्दा ७.५ प्रतिशत बोनस प्रस्ताव गरेको थियो।

दोस्रो बजारमा समावेश भए लगत्तै मूल्यले दिएको सक्रियात्मक प्रस्तुति र उत्साहजनक प्रतिफलका कारण चिलिमे हाइड्रोपावर लगानीकर्ताको आकर्षणमा पर्दै आएको छ। लगानीको सुनिश्चितता पाउँदा लगानीकर्ताको मनोबल चिलिमे हाइड्रोपावर प्रति बलियो देखिन्छ।    

Advertisement

ऊर्जामा सम्भावना भएको कम्पनी

सन् १९९५ मा स्थापना भएको चिलिमे हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको अधिकतम (५१ प्रतिशत) स्वामित्व छ भने २५ प्रतिशत सेयर विद्युत् प्राधिकरण र चिलिमेका कर्मचारीको तथा १४ प्रतिशत सर्वसाधारण र १० प्रतिशत रसुवा जिल्लाका बासिन्दाको छ। 

Advertisement

यसले ३ वटा जलविद्युत कम्पनीहरू  १११ मेगावाट क्षमताको रसुवागढी, १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी, साञ्जेन (माथिल्लो १४.८ र तल्लो ४२.५ मेगावाट) निर्माण गरिरहेको छ। यिनीहरूको कुल जडित क्षमता २७०.३० मेगावाट हुनेछ।

यी आयोजनामा चिलिमेको ३३ देखि ४० प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व छ। विद्युत् प्राधिकरणको भने १० देखि १८ प्रतिशतसम्म सेयर स्वामित्व छ। त्यसपछि सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको सबै आयोजनामा समान १९.५ प्रतिशत छ।

यसैगरी, सरकारले घोषणा गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ५ वटा जलविद्युत आयोजनाहरू क्रमशः ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक (बूढी गण्डकी प्रोक-१, २ र टम खोला जलविद्युत आयोजनाहरू), १६५ मेगावाट क्षमताको सेती नदी-३ र ६० मेगावाट क्षमताको चुमचेत स्यार खोलाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न शत प्रतिशत लगानी रहेको चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडसँग सम्झौता गरी अध्ययन कार्य अगाडि बढाएको छ। 

चुक्ता पुँजी बढाउँदै

कम्पनीको गत पुस २३ मा सम्पन्न २५ औ साधारण सभाले सेयरधनीका लागि आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७.५ % बोनस सेयर र सोको कर प्रयोजनार्थ ७.५ % नगद लाभांश वितरण गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२ रुपैयाँ ७७ पैसा छ। ७.५ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँ २२ पैसा पुग्नेछ।

नाफामा सामान्य बढोत्तरी, विद्युत् बिक्री भने घट्दो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चिलिमे हाइड्रोपावरले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२४ प्रतिशत मात्र बढी हो। कम्पनीको विद्युत् बिक्री आम्दानी घटे पनि वित्तीय आम्दानी बढेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २.३५ प्रतिशत घटेको छ। त्यसै गरी, कम्पनीको सञ्चालन मुनाफा ५.६० प्रतिशत घटेको छ भने वित्तीय आम्दानी ७५.५४ प्रतिशत बढेको छ। चुक्ता पुँजी साढे ७ प्रतिशत बढाएको यस कम्पनीको रिटेन्ड अर्निङ ७.६४ प्रतिशत घटेको छ।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२.५० रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११.८९ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८.५७ रुपैयाँ छ।

नेपाल विद्युत् प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत् ऊर्जा खरिद गर्ने र यस अवधिमा गत आव. पुस मसान्तसम्मको तुलनामा न्यून विद्युत् ऊर्जा खरिद भएकोले गर्दा विद्युत् बिक्री आम्दानी न्यून हुन गएको छ। उल्लेखित अवधिमा कन्ट्रयाक्ट इनर्जी बिक्रीमा भने कुनै असर परेको छैन। 

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यस आवमा बैंक मौज्दात बढ्न जाँदा र ब्याजदरमा पनि केही सुधार भएकाले ब्याज आम्दानीतर्फ  ३ करोड ८२ लाख ८७ हजार रुपैयाँ अर्थात् ७५.५४ प्रतिशतले वृद्धि हुन गएको छ।

प्रतिक्रिया