दूधको भाउ लिटरमा १४ रुपैयाँसम्म बढ्यो

विदुर खबर २०७८ माघ २७ गते २०:५९

नुवाकोट । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ ।

Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् ।

डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भने डीडीसीका दूधमा शुक्रबारदेखि मूल्य बढ्ने अनलाइनखबरलाई बताए । ‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । सबै प्रकारको दूधको मूल्य बढेको छ,’ झाले भने ।

Advertisement

डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध (निलो प्याकेट) को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ तोकिएको छ । यस्तै बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम भएको छ ।

यसअघि यस्तो दूधको मूल्य काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँ थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा पुगेको छ ।

Advertisement

निजी क्षेत्रका दूग्ध उत्पादक कम्पनीले पनि मूल्य बढाउने गृहकार्य भइरहेको बताएका छन् । बिहीबार यस विषयमा छलफल भए पनि मूल्यको टुंगोमा नपुगेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘सरकारले बढाएको मूल्यभन्दा निजी क्षेत्रले बिक्री गर्ने दूधको मूल्य फरक हुन्छ । मूल्य बढ्छ तर कति भन्ने यकिन भएको छैन,’सापकोटाले भने ।

निजी क्षेत्रको आकलनअनुसार नेपालमा धेरै दूध उत्पादन हुने समयमा दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ । तर, त्यसको १७ प्रतिशतमात्र बजारमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया