कमल थापा नयाँ दल खोल्ने तयारीमा

विदुर खबर २०७८ माघ २१ गते ८:३५

नुवाकोट । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । 

Advertisement

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका छन् । थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्ने छन् ।

‘अध्यक्षमा राजेन्द्रजीले नोमिनेसन गरेपछि दुबैजनाबीच फेस टु फेस नै भएको छैन । अहिले थापा कोरोना भएको कारण आइसोलेसनमा हुनुहुन्छ’ राप्रपाका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले भने, ‘माघभित्र निर्णय भएर सुलह नभएको अवस्थामा नयाँ पार्टी बन्दा अचम्म नमाने हुन्छ । त्यस दिशातर्फ गईरहेको देखेको छु । मिल्न चाहने हो भने धेरै ठूला विषयहरु छैनन् ।’

Advertisement

पौडेल शनिबारसम्ममा थापाको आइसोलेसनका लागि तोकिएको अवधी समाप्त हुने बताउँछन् । पौडेल अध्यक्ष लिङ्देन र थापा दुबैसँग संवादमा रहेका छन् । थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।

Advertisement

प्रतिक्रिया