१५ महिनापछि बल्ल छाप्न थालियो स्मार्ट लाइसेन्स

विदुर खबर २०७८ पुष १४ गते ९:३४

नुवाकोट। सर्वसाधारणले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) पाउन छाडेको १५ महिनापछि यातायात व्यवस्था विभागले बल्ल यसको छपाइ थालेको छ ।

Advertisement

करिब तीन साताअघि १४ लाख कार्ड आएपछि प्रिन्ट गरेर यसको वितरण थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मंगलबार यातायात व्यवस्था विभागमा लाइसेन्स छपाइको सुरुवात गरियो ।

२०७७ भदौदेखि स्मार्ट लाइसेन्स वितरण ठप्प थियो । विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो । अहिले नयाँ–पुराना गरी ७ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए । कार्ड सप्लाईको जिम्मा लिएको फ्रेन्च कम्पनी सेल्पले समयमै कार्ड सप्लाई नगर्दा छपाइमा ढिलाइ भएको थियो ।

Advertisement

‘हामीसँग भएको प्रिन्टरलाई अब पूर्ण क्षमतामा प्रतिदिन तीन सिफ्ट चलाइनेछ,’ विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘अब प्रतिदिन ७ देखि १० हजार कार्ड प्रिन्ट गर्ने योजना छ ।’ माघ मसान्तसम्म पुरानो बाँकी रहेको कार्ड प्रिन्ट गरिसक्ने उनको दाबी छ । मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ । कार्ड छाप्नासाथ २१ वटै यातायात व्यवस्था कार्यालय पठाइनेछ । कार्यालयमा पुग्नासाथ वितरण थालिने घिमिरेले जानकारी दिए ।

चिप्ससहितको कार्ड नवीकरण गर्ने र एक वर्षको परीक्षणकाल उत्तीर्ण भएकालाई मात्र त्यो दिइने विभागको भनाइ छ । एक वर्ष परीक्षणकाल पास गर्नेलाई हातमै स्मार्ट कार्ड पुर्‍याउने सोच रहेको महानिर्देशक घिमिरेले बताए । नवीकरण गर्न आउनेलाई हुलाकमार्फत हातमै पुर्‍याउने लक्ष्य रहेको पनि उनले जनाए । नयाँ सवारी चालक अनुमति प्राप्त गर्ने व्यक्तिका लागि एक वर्षको परीक्षणकालीन कार्ड दिइनेछ, जुन सबै यातायात व्यवस्था कार्यालयबाट ट्रायल पास गर्नासाथ दिइने उनको भनाइ छ ।

Advertisement

अब ट्रायल पास गर्नेबित्तिकै रसिद बोकेर हिँड्नुपर्ने समस्या नरहेको घिमिरेको दाबी छ । ‘स्मार्टकार्डको समस्या अहिलेलाई समाधान भएको छ । तर दीर्घकालीन भएको छैन,’ महानिर्देशक घिमिरेले भने, ‘१४ लाख कार्ड वितरण गरिसकेपछि के गर्ने भन्ने विषयमा मन्त्रालयका सचिवसँग छलफल भइरहेको छ ।’

प्रतिक्रिया