कांग्रेस महधिवेशन: सबै नेताको ध्यान अधिवेशनमा
नुवाकोट । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ ।
महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा केन्द्रित छ । कार्यतालिकाअनुसार आज ५८ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै छ ।
साथै यी जिल्लाको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको प्रक्रिया पनि आजै अघि बढाइँदै छ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले आफ्नो पक्षका प्रतिनिधि निर्वाचित गर्न नेताहरूले भरपुर शक्ति प्रयोग गरिरहेका छन् ।
मंसिर २४ देखि २६ सम्म हुने कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि आउनेछन् । १ सय ६५ प्रतिनिभिसभा क्षेत्रमध्ये यसअघि १७ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभएको छ ।
निर्वाचन समितिका सचिव श्रेष्ठका अनुसार एकमात्र निर्वाचन क्षेत्र भएको ३५ जिल्लामध्ये १५ जिल्लामा जिल्ला अधिवेशन पनि सम्पन्न भइसकेको छ ।तल्लो तहको अधिवेशनअन्तर्गत १ सय ४८ क्षेत्रमा क्षेत्रीय अधिवेशन र ६२ जिल्लामा जिल्ला अधिवेशन गर्न बाँकी छ । जिल्ला सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । जिल्ला अधिवेशन गर्ने कार्यतालिका मंसिर १० गते तोकिएको छ ।
क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही दुई जिल्लामध्ये रसुवामा जिल्ला निर्वाचन अधिकृत पुनः खटाइसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सर्लाहीमा पनि जिल्ला निर्वाचन अधिकृत खटाउने बारेमा आइतबार साँझ निर्वाचन समितिको बैठक बसेको समितिका सचिव श्रेष्ठले बताउनुभएको छ ।
कांग्रेसले प्रदेश अधिवेशन गर्ने मिति १६ र १७ गते तोकेको छ ।अधिवेशन सम्पन्न भएको १७ क्षेत्रबाट आएका ४ सय २५ महाधिवेशन प्रतिनिधिमा आ–आफ्नो पक्ष बढी रहेको भन्दै संस्थापन पक्ष र संस्थापनइतर पक्षका नेताहरूको दाबी रहेको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा पुनः नेतृत्व दोहो¥याउने रणनीतिमा छन् भने संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालाले दाबी गरिरहेका छन् ।
यसअघि संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले दुई महिना अघिदेखि सभापतिको उम्मेदवारी घोषणा गरी तयारी अघि बढाइरहनुभएको छ ।
कांग्रेसभित्र तेस्रो धारका रूपमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पनि १४औं महाधिवेशनमा आफ्नो टिमसहित नेतृत्वको दाबी गर्ने बताउँदै आउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया