नुवाकोटमा पहिरोले १० घर बगायो,लाखौँको क्षति
नुवाकोट, बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।
सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको रु दुई लाखभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।
सोही स्थानमा जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण रु आठ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ । घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ । पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया