एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई
नुवाकोट । चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलोपटक उपाधि जितेको हो। पोखराले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले ६ विकेट गुमाउँदै ११४ रन बनायो।
चितवनका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, दीलिप नाथले १७ बलमा २ चौकासहित १८ रन बनाए। सामान्य लक्ष्य पाएपनि आक्रमक खेल प्रस्तुत गर्न खोज्दा चितवनका सुरुवाति क्रमका तीन खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
चितवनका ओपनर हसिम अन्सारी नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमा शून्य रनमा क्याच आउट भए। यादवले फ्याँकेको बललाई प्रहार गर्न खोज्दा पोखराका कप्तान विनोद भण्डारीले सहजै समाए। यस्तै, किशोर महतोको बलमा अफगानिस्तानका ब्याट्सम्यान करिम जन्नत शून्य रनमै क्याच आउट भए। दोस्रो ओभरको तेस्रो बलमा उनले लामो शट खेल्ने प्रयास गरेपनि रिचर्ड लेवीको हातबाट क्याच आउट भए।
चितवनका ओपनर मोहम्मद शेहजाद १४ बलमा २ चौका प्रहार गर्दै ११ रनमा क्याच आउट भए। तेस्रो ओभरको अन्तिम बलमा किशोर महतोले फ्याँकेको बललाई प्रहार गर्न खोज्दा शेहजाद विपिन रावलको हातबाट सहजै क्याच आउट भएका थिए।
त्यसपछि कृजमा आएका दीलिप नाथ र भीम सार्कीले चितवनको इनिङ्स उकासेका थिए। उनीहरुबीच ५४ रनको साझेदारी भएको थियो। ११औं ओभरको पहिलो बलमा किशोर महतोले लोकेश बमबाट आउट गराउनु अघि दीलिपले १७ बलमा दुई चौका प्रहार गर्दै १८ रन बनाए।
दीलिप बाहिरिएसँगै भीमलाई साथ दिन आएका राजेश पुलामीले १२ बलमा १४ रन बनाए। एक चौका प्रहार गरेका उनी नन्दन यादवको बलमा बोल्ड भए।
पोखराका लागि किशोरले ३.५ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ४ विकेट लिए। यता, नन्दन यादवले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएको पोखरा राइनोजले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायो।
पोखराको लागि ओपनिङमा उत्रिएका दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेवी र विपिन रावलले मध्यम सुरुवात गरेका थिए।
पहिलो विकेटका लागि उनीहरुबीच ३७ रनको साझेदारी भएको थियो। पहिलो ओभर निकै नै शान्त देखिएका लेवीले दोस्रो ओभरमा तीन चौका प्रहार गरे।
१५ बल खेलेका लेवी ५ चौका प्रहार गर्दै २६ रन बनाएर क्याच आउट भए।
उनी तेस्रो ओभरको तेस्रो बलमा करिम जन्नतले फ्याँकेको बलमा लामो शट खेल्ने क्रममा दीलिप नाथबाट क्याच आउट भए।
लेवी आउट भएपछि पोखराका अन्य खेलाडीलाई दबाब परेको थियो।
चौथो ओभरको ५औं बलमा रित गौतम पनि क्याच आउट भए। उनले ७ बलमा २ रन मात्रै बनाए। उनलाई कमलसिंह ऐरीले हासिम अन्सारीको हातबाट क्याच गराए।
यता, साहन अर्चाचिगे पनि दुई रनमा क्याच भए। उनी ५औं ओभरको अन्तिम बलमा सोमपाल कामीको बलमा साहब आलमको हातबाट क्याच भए।
यस्तै, अर्का ओपनर विपिन रावललाई पोखराले ८औं ओभरको तेस्रो बलमा गुमायो। कृजमा जम्न संघर्ष गरिरहेका रावललाई सागर ढकालले साहब आलमको हातबाट क्याच गराएका थिए।
उनले १५ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १७ रन बनाए।
यता, श्रीलंकका मध्यमक्रमका ब्याट्सम्यान असेला गुणरत्ने पनि लामो समय कृजमा टिक्न सकेनन्।
२४ बलमा एक छक्का र ३ चौका प्रहार गरेका उनले ३४ रन मात्रै बनाउन सके।
पोखराले १४औं ओभरको तेस्रो बलमा विवेक यादवलाई गुमायो। ५ बलमा एक चौकासहित ४ रन बनाएका विवेक लामो शट खेल्नेक्रममा कमलसिंह कमलसिंह ऐरीले फ्याँकेको बललाई लङअपमा रहेका सोमपाल कामीले सहजै समाए।
कमलसिंह ऐरीकै ५औं बल खेल्न आएका लोकेश बम शून्य रनमा दीलिप नाथको हातबाट क्याच आउट भए।
१५औं ओभरको अन्तिम बलमा बिक्रम शोव पनि एक रनमै समेटिए। सीकुगे प्रसन्नाले फ्याँकेको बललाई डिफेन्स गर्न खोज्दा उनी बोल्ड भएका थिए।
खेलको अन्तिमतिर पोखराको इनिङ्स सम्हाल्न आएका नन्दन यादव १६औं ओभरको चौथौ बलमा करिम जन्नतले फ्याँकेको बलमा एल्बिडब्यू आउट भए।
१७औं ओभरको अन्तिम बलमा कमलले फ्याँकेको बललाई पोखराका कप्तान विनोद भण्डारीले लामो शट प्रहार गरेका थिए। उक्त बल भीम सार्कीले समाए। विनोदले २६ बलमा दुई चौकासहित २२ रन बनाए।
चितवनका ६ बलरको बलिङ, कमलको ४ विकेट
उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिएका चितवनका कप्तान सोमपाल कामीले बलिङमा ६ जनालाई उतारेका थिए।
तर, कमलबाहेक अन्य बलर किफायति देखिएनन्। ३.५ ओभर बलिङ गरेका कमलले २० रन खर्चिएर ४ विकेट लिए।
यता, प्रसन्न र जन्नतले २/२ विकेट लिए। ३ ओभर बलिङ गरेका प्रसन्नले १३ रन खर्चिए। यता, जन्नतले १५ रन खर्चिए।
सागर ढकाल र सोमपालले १/१ विकेट लिए भने आलम विकेटविहीन भए।
पाँच खेलमा तीनमा जित र एकमा हारसहित सात अंकका साथ दोस्रो स्थानमा रहँदै पोखराले क्वालिफायर खेलेको थियो। क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको थियो।
पोखरा चितवनसँग लिग र पहिलो क्वालिफायर दुवैमा पराजित भएको थियो। पहिलो क्वालिफायर चितवनले पोखरालाई नौ विकेटले पराजित गरेको थियो भने लिगमा पनि चितवनले पोखरालाई नौ विकेटले नै पराजित गरेको थियो।
यता, लिगमा पाँच खेलमा जित र एकमा हारसहित शीर्षस्थानमा रहँदै चितवनले क्वालिफायर खेलेको थियो।
उपाधिसँगै चितवनले ५० लाख हात पारेको छ। यता, पोखराले १५ लाखमा चित्त बुझायो।
यसअघि पहिलो संस्करणको उपाधि २०१६ मा पन्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै जितेको थियो।
२०१७ मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि हात पारेको थियो भने २०१८ को फाइनलमा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १४ रनले पराजित गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया